अभिलाष गुप्ता
वीरगञ्ज, १७ जेठ

वीरगञ्जमा विद्यालयस्तरीय फुटबल खेलको विकास तथा विद्यार्थीहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले वीरगञ्ज यूथ एकेडेमी को आयोजनामा “प्रथम वीरगञ्ज अन्तरविद्यालय फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ। प्रतियोगिताको सह–आयोजकका रूपमा मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेको छ।
आयोजकका अनुसार प्रतियोगिता आगामी जेठ १८ गतेदेखि २५ गतेसम्म वीरगञ्जको आदर्शनगर फुटबल मैदान मा सञ्चालन हुनेछ। प्रतियोगितामा वीरगञ्जका विभिन्न विद्यालयहरूको सहभागिता रहनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा जेठ १८ गते मुनलाइट इङ्ग्लिस बोर्डिङ स्कुल र सफल विद्यालयबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि जेठ १९ गते बिकन र लिटल फ्लावर, जेठ २० गते मोडर्न र नवदीप, जेठ २१ गते साउथ जोन र काभेरी तथा अल्पाइन विद्यालयका टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। विजेता टोलीहरू सेमिफाइनल हुँदै फाइनल चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ २५ गते आयोजना गरिनेछ।
यस प्रतियोगितालाई थप आकर्षक बनाउन समाजसेवी, अधिवक्ता तथा प्याब्सनका पूर्व केन्द्रीय सदस्य प्रकाश उपाध्याय ले विशेष सहयोगको घोषणा गरेका छन्। उनले प्रतियोगिताभर हुने सात दिनका खेलहरूमा हरेक दिन उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द म्याच’ खेलाडीलाई नगद एक हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
उपाध्यायले विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान र प्रोत्साहन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
वीरगञ्जमा फुटबल खेलको लोकप्रियता जोगाइराख्न तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक वीरगञ्ज यूथ एकेडेमीले जनाएको छ। प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय फुटबल गतिविधिलाई थप चलायमान बनाउने विश्वास गरिएको छ।








