२०८३ जेष्ठ २७ गते बुधबार

रास्वपा पर्साको प्रथम जिल्ला अधिवेशन आजदेखि पुनः सुरु, नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै

अभिलाष गुप्ता
वीरगञ्ज, २४ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन आज बिहानदेखि पुनः सञ्चालन हुने भएको छ। प्रतिनिधि नामावली तथा निर्वाचन प्रक्रियालाई लिएर उत्पन्न विवाद र झडपका कारण शनिबार स्थगित भएको अधिवेशन काठमाडौँबाट आएका पार्टीका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठको उपस्थितिमा भएको सहमतिपछि पुनः सुरु हुन लागेको हो।

जिल्ला सभापति हरि पन्तका अनुसार बिहान ८ बजेदेखि खुला तथा बन्द सत्र सञ्चालन गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। अधिवेशनको समयतालिका समेत सार्वजनिक गरिसकिएको छ।

यसअघि वीरगञ्ज–९ स्थित होटल गेटवेमा प्रतिनिधि छनोट प्रक्रिया चलिरहेका बेला दुई समूहबीच विवाद चर्किएको थियो। प्रतिनिधि मनोनयन तथा विभाग गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै एक पक्षले निर्वाचन समितिमा ज्ञापनपत्र बुझाउँदै विभाग गठनको माइन्युट, निर्णय विवरण तथा प्रतिनिधि चयनको आधार सार्वजनिक गर्न माग गरेको थियो।

निर्वाचन प्रक्रिया केही समय स्थगित गरी पुनः सुरु गरिए पनि विवाद झडपमा परिणत भएको थियो। झडपमा महादेवप्रसाद कुर्मी, वीरेन्द्र साह र रन्दिप श्रीवास्तव घाइते भएका थिए। उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको थियो। घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो।

रास्वपा पर्साभित्र जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्तको नेतृत्वमा एक समूह सक्रिय रहेको छ भने अर्को समूहमा पर्सा–२ का सांसद सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यसहितका नेताहरू रहेका छन्। जिल्ला सभापति पदका लागि हरि पन्त र सुशील कुमार कानु दुवैले आ–आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्।

कानु पक्षको प्यानलमा रन्दिप श्रीवास्तव (उपसभापति), शिवकुमार साह (सचिव), नीरज साह (सह–सचिव), समिर अन्सारी, महमुद अन्सारी (सदस्य), शशीदेवी थरुनी तथा आशिका थापा (महिला सदस्य) रहेका छन्। त्यस्तै पन्त पक्षबाट दिलीप कुर्मी (उपसभापति), सुदेश कुमार प्रजापति (सचिव), कृष्ण पासवान (सह–सचिव), तुलसा अधिकारी, प्रियङ्का पटेल, युवराज पटेल, पूर्णबहादुर सापकोटा र कामोद्या चौधरी सदस्य पदमा प्रतिस्पर्धामा छन्।

यसैबीच रास्वपा पर्साको वीरगञ्ज महानगर समितिले अधिवेशनपछिको पुनर्गठन प्रक्रिया सम्पन्न नहुन्जेल मातहतका सम्पूर्ण विभाग तथा उपसमितिहरू विघटन गरेको घोषणा गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM