२०८३ जेष्ठ २७ गते बुधबार

प्रदेशलाई पूर्ण स्वायत्तता दिनुपर्ने मागसहित जनमत पार्टीको काठमाडौंमा प्रदर्शन

अभिलाष गुप्ता
वीरगञ्ज, २४ जेठ

प्रदेशहरूलाई पूर्ण स्वायत्त घोषणा गर्नुपर्ने लगायत विभिन्न माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

यसअघि सरकारसँग भएको ८ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गर्दै आयोजित प्रदर्शनमा सहभागीहरूले प्रदेशहरूलाई पूर्ण स्वायत्तता प्रदान गर्न, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत कायम गर्नुपर्ने माग उठाएका थिए।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासनलाई समेत प्रदेश मातहत राख्नुपर्ने, नेपाली सेनामा मधेशी तथा थारु समुदायको सामूहिक भर्ना सुनिश्चित गर्नुपर्ने तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग प्रदर्शनमार्फत अघि सारिएको थियो।

जनमत पार्टीले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्याको समाधान, किसानलाई समयमै मलखाद तथा सहज ऋण उपलब्ध गराउने व्यवस्था, साथै चुरे क्षेत्रको दोहन र अतिक्रमण नियन्त्रण गर्नुपर्ने माग पनि गरेको छ।

प्रदर्शनमा सहभागीहरूले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुम्बासी तथा अल्पसंख्यक समुदायमाथि हुने दमन, शोषण र विभेद अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

कार्यक्रममा सहभागी जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ ले उक्त जानकारी दिएका हुन्।

यसैबीच काठमाडौंमै जेठ २४ र २५ गते जनमत पार्टीको दुईदिने केन्द्रीय समिति विस्तारित बैठक जारी रहेको छ। पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सरार्फका अनुसार बैठकले पछिल्लो निर्वाचनको समीक्षा, संगठन सुदृढीकरण तथा नयाँ ऊर्जा र रणनीतिका साथ पार्टीलाई अगाडि बढाउने विषयमा महत्वपूर्ण निर्णय गर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM