२०८३ जेष्ठ २८ गते बिहीबार

महामारी तयारी तथा प्रतिकार्य सुदृढीकरण कार्यक्रमबारे सरोकारवालासँग समन्वय बैठक सम्पन्न

अभिलाष गुप्ता
वीरगञ्ज, २७ जेठ

नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाको आयोजनामा महामारी तयारी तथा प्रतिकार्य सुदृढीकरण कार्यक्रमबारे सरोकारवाला निकायहरूसँग जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ।

वीरगञ्जस्थित होटल गेटवेमा आयोजित बैठक नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा महामारी तथा स्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापन, समन्वय, पूर्वतयारी र प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रमा आपतकालीन समन्वय तथा प्रतिकार्य गर्न सक्षम र सुदृढ स्वास्थ्य संस्था निर्माण गर्ने लक्ष्य राखिएको छ।

महामारी तयारी तथा प्रतिकार्य सुदृढीकरण कार्यक्रमका अधिकृत शिवप्रसाद सुवेदीका अनुसार कार्यक्रमअन्तर्गत विभिन्न क्षमता अभिवृद्धिमूलक तालिम सञ्चालन गरिनेछ। जसमा मनोसामाजिक परामर्श तालिम, समुदायमा आधारित रोग खोजपडताल तालिम, रेडक्रस आपत्कालीन क्लिनिक सञ्चालन तालिम तथा स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको दक्षता अभिवृद्धि गर्ने कार्यक्रम समावेश छन्।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाको आपत्कालीन स्वास्थ्य पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणमा प्राविधिक सहयोग प्रदान गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पानीका मुहानहरूको सर्वेक्षण तथा पानीको गुणस्तर सुधारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने लगायतका गतिविधि पनि सञ्चालन गरिने जानकारी दिइएको छ।

बैठकले महामारी नियन्त्रण तथा स्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि सम्बन्धित निकायबीच सहकार्य, समन्वय र साझेदारीलाई थप मजबुत बनाउने निर्णयसमेत गरेको छ।

अधिकृत सुवेदीका अनुसार उक्त कार्यक्रम वीरगञ्ज महानगरपालिका वडा नं. ११, १२ र १३ मा सञ्चालन गरिनेछ। कार्यक्रममार्फत समुदायस्तरमा स्वास्थ्य सुरक्षा, जनचेतना अभिवृद्धि तथा महामारी प्रतिकार्य क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM