अभिलाष गुप्ता
वीरगञ्ज, २९ जेठ

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको आयोजनामा एकदिने योग शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा योगप्रति रुचि अभिवृद्धि गर्दै शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले आयोजित शिविरमा विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर (डी.जी.) लायन राम बिहारी पाण्डेले गमलामा पानी हालेर गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले योग केवल शारीरिक व्यायाम मात्र नभई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीको आधार भएको बताए। उनले आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव, चिन्ता तथा विभिन्न स्वास्थ्य समस्याबाट बच्न योगको नियमित अभ्यास आवश्यक रहेको उल्लेख गरे।
लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन शुशिला साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विद्यालयस्तरमै योग संस्कृतिको विकास गर्न आवश्यक रहेको बताइन्। अध्यक्ष साहले विद्यार्थीहरूलाई सानै उमेरदेखि योग तथा ध्यानको अभ्यास गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। उनले समाजमा स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिइन्।
शिविरमा योग गुरु लालबहादुर महतो कोइरीले नवदिप एकेडेमीका विद्यार्थीहरूलाई विभिन्न योगासन, प्राणायाम तथा ध्यानका अभ्यासहरू गराएका थिए। प्रशिक्षणका क्रममा उनले योगले शरीरलाई स्वस्थ, मनलाई शान्त र एकाग्र बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले विद्यार्थीहरूलाई दैनिक जीवनमा योगलाई समावेश गर्न आग्रह गर्दै नियमित अभ्यासले अध्ययनमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले योगका विभिन्न अभ्यास सिक्नुका साथै यसको महत्वबारे जानकारी प्राप्त गरेका थिए। शिक्षकहरूले पनि यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र स्वास्थ्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन क्लबकी सचिव लायन कविता क्षेत्रीले गरेकी थिइन्। शिविर विद्यार्थी तथा शिक्षकहरूको उत्साहजनक सहभागितासहित सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।








