छतरपुर (मध्य प्रदेश, भारत) — भारतको मध्य प्रदेशस्थित छतरपुर जिल्लाको गढा गाउँमा रहेको प्रसिद्ध बागेश्वर धाम मा देश–विदेशबाट हजारौं श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्। धार्मिक आस्था, कथा–प्रवचन र मानव सेवाको सन्देशका कारण धामले अन्तर्राष्ट्रिय स्तरमा विशेष पहिचान बनाएको छ।
यसै क्रममा नेपालको सिरहा जिल्ला निवासी बालक लक्ष्य कुमार सिंह ले आफ्नो सेवाभावद्वारा सबैको मन जितेका छन्। आफ्ना आमाबुवासँग दर्शनका लागि बागेश्वर धाम पुगेका लक्ष्य अन्नपूर्णा प्रसाद भण्डारामा भक्तजनहरूले प्रयोग गरी धुईसकेका थालहरू पुनः वितरण हुने स्थानसम्म पुर्याउने सेवामा सक्रिय रूपमा सहभागी भएका छन्।
सानो उमेरमै सेवाभाव, अनुशासन र जिम्मेवारीको भावना प्रदर्शन गरेका लक्ष्यले धर्म केवल दर्शन र पूजा–आराधनामा मात्र सीमित नरहेको, सेवा र सहयोगमार्फत पनि धर्मको वास्तविक अभ्यास गर्न सकिने सन्देश दिएका छन्।
लक्ष्यका अनुसार, उनको उद्देश्य दर्शनसँगै सेवा गरेर अरूलाई सहयोग गर्नु र “सेवा नै धर्म हो” भन्ने भावनालाई व्यवहारमा उतार्नु हो। धार्मिक वातावरण, गुरुजीका प्रवचन तथा धाममा देखिएको सेवाको संस्कृतिबाट प्रभावित भएर आफूले स्वेच्छाले सेवा कार्यमा सहभागिता जनाएको उनले बताए।
आजको समयमा बालबालिकाहरू विभिन्न प्रविधि र मनोरञ्जनमा व्यस्त भइरहेका बेला लक्ष्यको यो कार्य प्रेरणादायी बनेको छ। उनको सेवाभावले श्रमको सम्मान, सामाजिक उत्तरदायित्व, विनम्रता र मानव सेवाको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको छ। यस्ता गतिविधिले अन्य बालबालिका तथा युवाहरूलाई पनि समाज र मानवताको सेवामा अग्रसर हुन प्रेरित गर्ने विश्वास गरिएको छ।
तस्बिर : बागेश्वर धामको अन्नपूर्णा प्रसाद भण्डारामा धुईसकेका थालहरू पुनः वितरण केन्द्रसम्म पुर्याउँदै सेवा कार्यमा जुटेका सिरहाका बालक लक्ष्य कुमार सिंह।









