२०८३ असार १ गते सोमबार

वडा अध्यक्ष जयप्रकाश शाह अग्रवालको निर्णय विवादमा, राम्रै सडक भत्काएको भन्दै चौतर्फी विरोध

अभिलाष गुप्ता
वीरगञ्ज ०१ असार

वीरगञ्ज महानगरपालिका–६ अन्तर्गत लोहारपट्टी रोडमा प्रयोगयोग्य अवस्थामै रहेको सडक भत्काएर पुनः निर्माण प्रक्रिया अघि बढाइएपछि स्थानीयवासीले त्यसप्रति तीव्र आपत्ति जनाएका छन्। स्थानीयहरूले आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने उद्देश्यले आवश्यकताभन्दा बढी खर्च गर्न खोजिएको भन्दै वडा अध्यक्ष जयप्रकाश शाह अग्रवालमाथि प्रश्न उठाएका छन्।

स्थानीयका अनुसार त्रिभुवन विद्यालय नजिकको चोकदेखि पश्चिमतर्फ लोहारपट्टी चोकसम्मको सडक केही समयअघि मात्र निर्माण तथा स्तरोन्नति गरिएको थियो। सडक राम्रो अवस्थामा सञ्चालनमा रहँदा रहँदै आइतबार रातिदेखि डोजर प्रयोग गरी सडक भत्काउने काम सुरु गरिएपछि स्थानीयवासी आश्चर्यचकित भएका छन्।

स्थानीय व्यवसायी तथा बासिन्दाहरूले असार महिनामा बजेट खर्च गर्ने उद्देश्यले सडक पुनः निर्माणको योजना अघि सारिएको आशंका व्यक्त गरेका छन्। एक स्थानीय पसलेले नाम नछाप्ने सर्तमा भने, “अहिलेसम्म सडकमा कुनै गम्भीर समस्या देखिएको थिएन। दैनिक सवारी आवागमन सहज रूपमा भइरहेको थियो। तर असार लागेपछि अचानक सडक भत्काएर पुनः निर्माणको काम सुरु गरिएको छ। यसले बजेट सक्ने उद्देश्य रहेको जस्तो देखिन्छ।”

सडक भत्काइएपछि महानगरपालिकाको विकास निर्माण कार्यमा पारदर्शिता, जवाफदेहिता र सुशासनको विषयलाई लिएर स्थानीय स्तरमा बहस सुरु भएको छ। स्थानीयहरूको भनाइमा जनताका प्राथमिक आवश्यकता र वास्तविक समस्यालाई बेवास्ता गर्दै बजेट खर्च गर्नकै लागि योजना सञ्चालन गर्नु सुशासनको मर्मविपरीत हुने गर्दछ।

स्थानीयहरूले सडक पुनः निर्माणको आवश्यकता किन पर्‍यो, त्यसका लागि प्राविधिक अध्ययन तथा मूल्याङ्कन भएको थियो वा थिएन, र कुन आधारमा बजेट विनियोजन गरिएको हो भन्ने विषयमा महानगरपालिकाले स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।

यता वडा अध्यक्ष जयप्रकाश शाह अग्रवालले भने सडक राम्रै अवस्थामा रहेको भन्ने आरोप अस्वीकार गरेका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त सडक गत वर्ष नयाँ निर्माण नभई केवल मर्मत गरिएको दाबी गरे। उनका अनुसार अहिले सञ्चालनमा ल्याइएको योजना छुट्टै शीर्षकअन्तर्गत स्वीकृत भएको हो र सडकको अवस्था पुनः बिग्रिएकै कारण निर्माण प्रक्रिया अघि बढाइएको हो।

“गत वर्ष यो सडक निर्माण गरिएको होइन, मर्मत मात्र गरिएको थियो। अहिले सडक पुनः बिग्रिएपछि अर्को शीर्षकबाट बजेट विनियोजन भएको हो,” अध्यक्ष अग्रवालले भने, “गत वर्ष नै नयाँ सडक निर्माण भएको भन्ने कुरा निराधार र तथ्यहीन हो।”

यद्यपि स्थानीय स्रोतबाट प्राप्त केही दिनअघिका तस्वीरहरूमा सडक सामान्य तथा प्रयोगयोग्य अवस्थामा देखिएको दाबी गरिएको छ। तस्वीरमा सडक तत्काल पुनः निर्माण गर्नुपर्ने अवस्थाको नदेखिएपछि स्थानीयवासीले योजना छनोट प्रक्रिया, प्राविधिक मूल्याङ्कन र बजेट खर्चको औचित्यमाथि प्रश्न उठाएका छन्।

स्थानीयवासीहरूले विकास निर्माणका योजनामा पारदर्शिता कायम गर्न, प्राविधिक प्रतिवेदन सार्वजनिक गर्न तथा जनताको करबाट संकलित बजेटको सदुपयोग सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यस विषयमा महानगरपालिकाले स्पष्ट धारणा सार्वजनिक नगरे विवाद अझ चर्किन सक्ने स्थानीयहरूको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM