अभिलाष गुप्ता
वीरगञ्ज, असार ७
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ।
वीरगञ्जस्थित होटल वृन्दावनमा आयोजित विशेष कार्यक्रममा पर्सा जिल्लामा प्याब्सनमा आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट छात्र तथा छात्राहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै उनीहरूलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीले गरेका थिए भने वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय सदस्य एवं समाजसेवी प्रकाश उपाध्याय, महिला वरिष्ठ उपाध्यक्ष सुशिला साह, मार्तिन मोक्तान लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आनन्द लामिछानेले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई थप उत्साहित र प्रेरित बनाउने विश्वास व्यक्त गरे। उनले मेहनत, अनुशासन र लगनशीलताका साथ अध्ययन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै यसले उनीहरूको आत्मविश्वास वृद्धि गर्नुका साथै भविष्य निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने बताए।
त्यसैगरी प्याब्सनका पूर्व केन्द्रीय सदस्य एवं समाजसेवी प्रकाश उपाध्यायले शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्य आवश्यक रहेको बताए। उनले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई बधाई दिँदै सफलता अन्तिम गन्तव्य नभई अझ ठूलो उपलब्धितर्फको यात्रा भएको उल्लेख गरे।
उपाध्यायले भने, “आज सम्मानित भएका विद्यार्थीहरू पर्सा जिल्लाको मात्र होइन, राष्ट्रकै भविष्यका कर्णधार हुन्। उनीहरूले प्राप्त गरेको सफलताले अन्य विद्यार्थीलाई समेत प्रेरणा दिनेछ। प्रतिस्पर्धात्मक युगमा ज्ञान, सीप र चरित्र निर्माणलाई समान रूपमा महत्व दिन आवश्यक छ।”
उनले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका कारण विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भएको धारणा व्यक्त गरे। साथै आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सम्मानित विद्यार्थीहरूले सम्मान प्राप्त गर्दा निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले आफ्नो सफलतामा विद्यालय, शिक्षक तथा अभिभावकको महत्वपूर्ण योगदान रहेको बताए।
प्याब्सन पर्साले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने विश्वास आयोजकको रहेको छ।









