२०८३ असार ७ गते आईतवार

विश्व योग दिवसमा आईसीपी रक्सौलमा भव्य योग शिविर, सयौंको सहभागिता

अभिलाष गुप्ता
रक्सौल, असार ७

विश्व योग दिवसको अवसरमा भारत–नेपाल सीमास्थित एकीकृत जाँच चौकी (आईसीपी) रक्सौल परिसरमा भव्य योग शिविर आयोजना गरिएको छ। भारत विकास परिषद्, रक्सौल शाखा र भारतीय भूमि बन्दरगाह प्राधिकरण (आईसीपी) रक्सौलको संयुक्त आयोजनामा सम्पन्न शिविरमा सयौं योगप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

आइतबार बिहान आयोजित कार्यक्रममा आईसीपी प्रशासक कुमार राजीव रञ्जन, सशस्त्र सीमा बल (एसएसबी) का सहायक कमान्डेन्ट अम्ब्रीश चौबे, योग प्रशिक्षक चन्द्रेश्वर प्रसाद साह, डा. विजय कुमार, भारत विकास परिषद्का अध्यक्ष रजनीश प्रियदर्शी तथा सचिव नरेश कुमारले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमको सुरुआत सामूहिक रूपमा ‘वन्दे मातरम्’ गानसँग गरिएको थियो।

यस अवसरमा परिषद्ले सहभागी योग साधक तथा विशिष्ट अतिथिहरूलाई गुलाबको फूलद्वारा स्वागत गरेको थियो। आईसीपी प्रशासक कुमार राजीव रञ्जन, सहायक कमान्डेन्ट अम्ब्रीश चौबे, डा. विजय कुमार, शिक्षाविद् डी.एन. कुशवाहा, अन्तर्राष्ट्रिय जनसेवा संगठनकी मीतु गुप्ता, काली सेनाकी राष्ट्रिय प्रमुख पार्वती तिवारी तथा माहेर ममता निवासका प्रबन्धक वीरेन्द्र कुमारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमका उद्घोषक सुनील कुमारले योगलाई भारतको प्राचीन सांस्कृतिक सम्पदाको रूपमा व्याख्या गर्दै आज विश्वभर यसको महत्व बढ्दै गएको बताए। उनले योगले शरीर, मन र मस्तिष्कबीच सन्तुलन कायम गरी सकारात्मक सोच, आत्मविश्वास र ऊर्जाको विकास गर्ने उल्लेख गरे।

योग प्रशिक्षक चन्द्रेश्वर प्रसाद साहले योग केवल शारीरिक व्यायाम नभई जीवन जिउने सम्पूर्ण कला भएको बताए। उनले सहभागीहरूलाई कपालभाती, भस्त्रिका, भ्रामरी लगायत विभिन्न प्राणायाम, योगासन तथा ध्यान अभ्यास गराएका थिए। शिविरमा सहभागीहरूले अत्यन्त अनुशासित र उत्साहपूर्ण रूपमा योग अभ्यास गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आईसीपी प्रशासक कुमार राजीव रञ्जनले आधुनिक जीवनशैली र बढ्दो तनावका बीच योग स्वास्थ्य, सन्तुलन र मानसिक शान्तिको प्रभावकारी माध्यम बनेको बताए। उनले योगलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए।

भारत विकास परिषद्का सचिव नरेश कुमार, सम्पर्क संयोजक उमेश सिकरिया, वातावरण संयोजक विजय कुमार साह तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफले संयुक्त रूपमा योग भारतको महान सांस्कृतिक तथा आध्यात्मिक धरोहर भएको बताए। उनीहरूले योगले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक र आध्यात्मिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

कार्यक्रम संयोजक अरविन्द जयसवालले वर्तमान समयमा तनाव, अवसाद र असन्तुलित जीवनशैलीजस्ता समस्याहरू बढिरहेका बेला योग मानवताका लागि आशाको किरण बनेर उभिएको बताए। उनले यस वर्षको विश्व योग दिवसको विषय “स्वस्थ वृद्धावस्थाका लागि योग” अत्यन्त सान्दर्भिक रहेको उल्लेख गर्दै नियमित योग अभ्यासले व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउने बताए।

कार्यक्रमको समापनमा भारतीय भूमि बन्दरगाह प्राधिकरणले भारत विकास परिषद्का अध्यक्ष रजनीश प्रियदर्शी तथा योग प्रशिक्षक चन्द्रेश्वर प्रसाद साहलाई स्मृतिचिन्ह प्रदान गरी सम्मान गरेको थियो। अध्यक्ष प्रियदर्शीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण निकाय, अतिथि तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै योगलाई जीवनशैलीको हिस्सा बनाउन आग्रह गरे।

राष्ट्रिय गानसँगै कार्यक्रम सम्पन्न भएको थियो। त्यसपछि परिषद् तथा आईसीपी व्यवस्थापनले सहभागीहरूलाई खाजा तथा पेय पदार्थ वितरण गरेको थियो।

कार्यक्रम सफल बनाउन उमेश सिकरिया, अरविन्द जयसवाल, नितेश कुमार सिंह, अजय कुमार, प्रशान्त कुमार, विजय कुमार साह, सुरेश धनोठिया, योगेन्द्र प्रसाद, विनोद कुमार, सन्तोष कुमार, विनोद रौनियार, मनोज सिंह, दिनेश प्रसाद, प्रतीक कुमारलगायत परिषद्का सदस्यहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए।

शिविरमा रक्सौल टेक्सटाइल चेम्बर अफ कमर्सका महासचिव आलोक कुमार श्रीवास्तव, रक्सौल चेम्बर अफ कमर्सका सचिव राजकुमार रौनियार, लायन्स क्लब अफ रक्सौलका अध्यक्ष बिमल सर्राफ, गणेश अग्रवाल, वसन्त जालान, सुशीला धनोठिया, सारिका जालान, सुरेश कुमार, गुड्डु खेतान, अनिता गुप्ता, मीरा कुशवाहा, सुनिता मधुकर, अख्तर सैफी, श्याम बाबु सिंह, सुरभी सिंह, प्रिया रानी, प्रदीप कुमार दास, सुरेश चन्द्र वर्मा, प्रकाश कुमार, राहुल गुप्ता, सन्तोष कुमार, नारायण कुमारलगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, भूमि बन्दरगाहका कर्मचारी, एसएसबीका जवान तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त जानकारी भारत विकास परिषद् रक्सौलका सम्पर्क संयोजक उमेश सिकरिया तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज बिमल कुमार सर्राफले दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM