अभिलाष गुप्ता
वीरगञ्ज ०९ असार

वीरगञ्ज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विद्यालयका हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन, खेलकुद संयोजक, अनुशासन प्रमुख लगायत विभिन्न विद्यार्थी प्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि आनन्द लामिछानेले दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत विद्यार्थीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै आएको उल्लेख गरे। उनले विद्यालयका विद्यार्थीहरूले शैक्षिक तथा सिर्जनात्मक क्षेत्रमा हासिल गरेका उपलब्धिको प्रशंसा गर्दै नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले विद्यार्थी नेतृत्वलाई विद्यालयको नीति, नियम तथा अनुशासनको पूर्ण पालना गर्दै जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरे। “जिम्मेवारी प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई सफलतापूर्वक पूरा गर्नु नै सबैभन्दा ठूलो उपलब्धि हो,” उनले भने, “पद ठूलो वा सानो हुँदैन, आफूले सम्हालेको जिम्मेवारीलाई कसरी निर्वाह गरिन्छ भन्ने कुरा नै महत्वपूर्ण हुन्छ।”
कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य छेदुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १३ का वडाध्यक्ष हिरा गिरी, मधेश प्रदेश सल्लाहकार इमामुद्दिन अहमद, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, मानव आश्रम सेवाका केन्द्रीय सदस्य देवेश मानव, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेल तथा समाजवादी प्रेस संगठनका मनोज पटेल लगायतको उपस्थिति रहेको थियो।
उपस्थित अतिथिहरूले विद्यालयले विद्यार्थीहरूको नेतृत्व विकास, अनुशासन तथा व्यक्तित्व निर्माणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध र नेतृत्व क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूद्वारा नवनिर्वाचित विद्यार्थी नेतृत्व, हाउस क्याप्टेन, खेलकुद संयोजक, अनुशासन प्रमुख तथा शैक्षिक, खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो।
विद्यालयले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी नेतृत्व चयन गर्न आधुनिक प्रविधिको प्रयोग गर्दै अनलाइन मतदान प्रणाली अपनाएको जनाएको छ। निर्वाचनमार्फत चयन भएका विद्यार्थीहरूले यही दिनदेखि आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयले प्रत्येक वर्ष शैक्षिक, खेलकुद तथा अन्य अतिरिक्त गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गर्दै आएको जानकारी दिए। उनले विद्यालयले नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै अपाङ्ग, दलित, शहीद परिवार, अल्पसंख्यक, आदिवासी तथा मधेसी समुदायका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताए।
कार्यक्रममा शिक्षिका प्रमिला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए।
विद्यालय परिसरमा उत्साहपूर्ण वातावरणबीच सम्पन्न कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन तथा जिम्मेवारीबोध अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।








