२०८३ असार ११ गते बिहीबार

मोहरम पर्व शान्तिपूर्ण बनाउन आयोजकको आधिकारिक पत्र अनिवार्य : प्रजिअ दाहाल

अभिलाष गुप्ता
वीरगञ्ज, असार १०

आगामी मोहरम (दाहा/ताजिया) पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा धार्मिक अगुवा रञ्जीत शाहले हनुमान जयन्तीका अवसरमा जस्तै मोहरम पर्वका लागि पनि आयोजक संस्थाको आधिकारिक पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने तथा कार्यक्रमको सम्पूर्ण जिम्मेवारी आयोजक संस्थाले लिनुपर्ने अडान राख्नुभएको थियो। शाहको उक्त मागलाई गम्भीर रूपमा लिँदै प्रजिअ दाहालले मुस्लिम समुदायका प्रतिनिधिलाई भोलि नै आधिकारिक पत्र दर्ता गराउन निर्देशन दिनुभएको छ।

प्रजिअ दाहालले पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रुट तथा सुरक्षा योजना तय गरिने जानकारी दिनुभयो।

बैठकले र्‍याली सञ्चालन, समय र रुटको पालना, हतियार तथा उच्च ध्वनियुक्त उपकरण प्रयोगमा रोक, धार्मिक सद्भाव कायम राख्ने, सामाजिक सञ्जालमा उत्तेजक सामग्री नप्रसारण गर्ने लगायत ९ बुँदे आचारसंहिता समेत जारी गरेको छ।

सुरक्षा समन्वयका लागि मुस्लिम समुदायको तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दु समुदायको तर्फबाट रञ्जीत शाहलाई जिम्मेवारी दिइएको छ। बैठकमा विभिन्न धार्मिक, सामाजिक, सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM