अभिलाष गुप्ता
वीरगञ्ज, असार ११

वीरगञ्जस्थित हरी खेतान बहुमुखी क्याम्पसमा वीरगञ्ज भन्सार कार्यालयको सहयोगमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (Time Release Study–TRS) सम्बन्धी ८ दिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रशिक्षण समापनको अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै नगद प्रोत्साहन रकम समेत प्रदान गरिएको थियो।
कार्यक्रममा क्याम्पसका २० जना छात्रछात्राले सहभागिता जनाएका थिए। प्रशिक्षण अवधिभर विद्यार्थीहरूले भन्सार प्रक्रियाको अध्ययन, वस्तु निकासी–पैठारीमा लाग्ने समयको विश्लेषण, तथ्यांक संकलन तथा व्यवहारिक अध्ययनका विभिन्न पक्षबारे जानकारी हासिल गरेका थिए।
प्रशिक्षणपछि सहभागी विद्यार्थीहरूले कार्यक्रम अत्यन्तै लाभदायक, ज्ञानवर्द्धक तथा व्यवहारिक अनुभव हासिल गर्न सहयोगी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्ता कार्यक्रमले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न महत्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख काजीबाबु कोइराला उपस्थित थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा भन्सार कार्यालयका लेखनाथ भट्टराई तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै प्रत्येक विद्यार्थीलाई जनही ७ हजार ५ सय रुपैयाँका दरले नगद प्रोत्साहन रकम समेत वितरण गरिएको आयोजकले जनाएको छ।
समारोहलाई सम्बोधन गर्दै कलेज व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानले यस्ता शैक्षिक तथा व्यवहारिक अध्ययनमूलक कार्यक्रमहरूले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै उनीहरूको शैक्षिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले शिक्षालाई व्यवहारिक अनुभवसँग जोड्न सके मात्र विद्यार्थीहरू प्रतिस्पर्धी र सक्षम जनशक्ति बन्न सक्ने धारणा राखे।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै व्यवहारिक ज्ञान, अनुसन्धान क्षमता तथा व्यावसायिक सीप विकासमा जोड दिन आग्रह गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
क्याम्पस प्रशासनका अनुसार यस प्रकारका अध्ययनमूलक तथा अनुसन्धानमा आधारित कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको पेशागत जीवनका लागि थप सक्षम र आत्मविश्वासी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।








