२०८३ असार ११ गते बिहीबार

हैजाविरुद्ध पूर्वतयारी सुदृढीकरणका लागि वीरगञ्जमा दुईदिने कार्यशाला सुरु

अभिलाष गुप्ता
वीरगञ्ज, असार ११

नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “Strengthening Cholera Preparedness: Lesson Learned Workshop” शीर्षकको दुईदिने कार्यशाला बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ।

वीरगञ्जस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा आयोजित कार्यशालाको उद्देश्य हैजाजस्ता सरुवा रोगको सम्भावित जोखिमलाई न्यूनीकरण गर्न पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव तथा सिकाइ आदानप्रदान गर्नु र प्रभावकारी प्रतिकार्यका लागि सरोकारवालाबीच समन्वय अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।

“Strengthening Preparedness, Sharing Evidence and Saving Lives” भन्ने मूल नारासहित सञ्चालन भइरहेको उक्त कार्यशालाको अध्यक्षता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) का नेपाल प्रतिनिधि डेभिड सिर्सको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयकी कार्यकारी निर्देशक मोना अर्याल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल मोहम्मद मियाँ, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रतिनिधिहरू बालकृष्ण सेढाईं, टिकाराज पौडेल तथा रश्मि झा विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाका सभापति बृजकिशोर पटेल, दयाशंकर सिंह,बिरसम्सेर कुर्मी,राजन श्रीवास्तव,मिना क्षेत्री लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले हैजालगायत जलजन्य तथा सरुवा रोगहरूको जोखिम अझै कायम रहेको उल्लेख गर्दै समयमै पूर्वतयारी, सचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता तथा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका थिए।

उनीहरूले महामारी नियन्त्रणका लागि सरकारी निकाय, स्वास्थ्य संस्था, रेडक्रस तथा समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै विगतमा हैजा नियन्त्रणका क्रममा प्राप्त अनुभव, चुनौती र सफल अभ्यासहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी रणनीति तयार पार्न कार्यशाला फलदायी हुने विश्वास व्यक्त गरिएको थियो।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा हैजा नियन्त्रण तथा व्यवस्थापन, आपतकालीन स्वास्थ्य तयारी, समुदायस्तरको सचेतना, खानेपानी तथा सरसफाइ व्यवस्थापन, बहुपक्षीय समन्वय तथा महामारी प्रतिकार्य सम्बन्धी विषयमा प्रस्तुति, छलफल र अनुभव आदानप्रदान गरिने जनाइएको छ।

आयोजकका अनुसार कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षहरूले भविष्यमा सम्भावित हैजा प्रकोपको प्रभावकारी व्यवस्थापन तथा जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM