अभिलाष गुप्ता
वीरगञ्ज, असार ११

नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “Strengthening Cholera Preparedness: Lessons Learned Workshop” शीर्षकको दुईदिने कार्यशाला बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ।
वीरगञ्जस्थित होटल क्लार्क रिसोर्ट गण्डकमा आयोजित कार्यशालाको उद्देश्य हैजाजस्ता सरुवा रोगको सम्भावित जोखिम न्यूनीकरण गर्न पूर्वतयारीलाई सुदृढ बनाउनु, विगतका अनुभव तथा सिकाइ आदानप्रदान गर्नु तथा प्रभावकारी प्रतिकार्यका लागि सरोकारवालाबीच समन्वय अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ।
“Strengthening Preparedness, Sharing Evidence and Saving Lives” भन्ने मूल नारासहित सञ्चालन भइरहेको उक्त कार्यशालाको अध्यक्षता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले गरेका थिए भने नारायणी अस्पतालका डा. मुकेश पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) नेपाल प्रतिनिधिमण्डल प्रमुख David Fisher रहेका थिए।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, नेपाल रेडक्रस सोसाइटीकी कार्यकारी निर्देशक मोना अर्याल, नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका अध्यक्ष फुल महम्मद मियाँ, पर्सा रेडक्रसका सभापति वृज किशोर पटेल, कोषाध्यक्ष दयाशन्कर सिह, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रतिनिधि रचित ओझा, स्वास्थ्य सेवा विभागका डा. हेमन्त ओझा तथा लक्ष्मी पाण्डेको उपस्थिति रहेको थियो।
त्यसैगरी, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय पर्सा तथा बाराका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) का डा. प्रकट अर्याल तथा युनिसेफका अनिश शर्मा सुवेदी र मेघराज मगरको समेत उपस्थिति रहेको थियो। साथै नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
कार्यशालामा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले हैजालगायत जलजन्य तथा सरुवा रोगहरूको जोखिम अझै कायम रहेको उल्लेख गर्दै समयमै पूर्वतयारी, जनचेतना अभिवृद्धि, सुरक्षित खानेपानीको सुनिश्चितता तथा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका थिए।
दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा हैजा रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका अभ्यास, सिकाइ, चुनौती तथा आगामी रणनीतिबारे छलफल गरिने कुरा जानकारी गराइएको छ ।








