अभिलाष गुप्ता
वीरगञ्ज, असार १३

वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर व्यवस्थापन तथा जाम भएका नालाहरू सफा गर्ने कार्यलाई तीव्रता दिइएको छ।
महानगरको मुख्य व्यापारिक क्षेत्र अलखियामठ, आदर्शनगरलगायत स्थानमा केही समयदेखि फोहोर थुप्रिने र नाला जाम हुने समस्याका कारण स्थानीयवासी तथा व्यवसायीहरू सास्तीमा परेका थिए। जनगुनासोलाई तत्काल सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख आलमले महानगरपालिकाको सरसफाइ शाखा र प्राविधिक टोलीलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको थियो।
निर्देशनसँगै महानगरपालिकाको सरसफाइ टोली आवश्यक उपकरण र सवारीसाधनसहित अलखियामठ र आदर्शनगर क्षेत्रमा खटिएको छ। सडक तथा गल्लीहरूमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थित रूपमा उठाउने कार्य भइरहेको छ। साथै, सवारीसाधन र पैदलयात्रीलाई असहज नहुने गरी सरसफाइ अभियान सञ्चालन गरिएको छ।
वर्षायामलाई मध्यनजर गर्दै पानी जम्ने समस्याबाट बच्न बजार क्षेत्रका जाम भएका नालाहरू सफा गर्ने, थुनिएको पानीको निकास खुलाउने तथा ढल प्रणालीलाई नियमित बनाउने कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको महानगरपालिकाले जनाएको छ।
कार्यवाहक नगरप्रमुख आलमको सक्रियतापछि बजार क्षेत्रको सरसफाइमा सुधार देखिन थालेको भन्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणले महानगरपालिकाको पहलको स्वागत गरेका छन्।
महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र दुर्गन्धमुक्त बनाउने अभियानलाई निरन्तरता दिने जनाउँदै फोहोर जथाभावी नफाल्न तथा नालामा अवरोध पुग्ने गरी कुनै पनि सामग्री नराख्न सम्पूर्ण नगरवासीमा अपिल गरेको छ।























