२०८३ असार १३ गते शनिबार

भारत विकास परिषद् द्वारा डा. सुरज प्रकाशको १०६औँ जन्मजयन्ती रक्सौलमा श्रद्धापूर्वक मनाइयो

अभिलाष गुप्ता
रक्सौल, असार १३

भारत विकास परिषद्, रक्सौल शाखाले परिषद्का संस्थापक तथा प्रथम राष्ट्रिय महासचिव डा. सुरज प्रकाशको १०६औँ जन्मजयन्ती शनिबार श्रद्धा, सम्मान र उत्साहका साथ मनाएको छ। शाखा अध्यक्ष रजनीश प्रियदर्शीको अध्यक्षतामा कोइरिया टोलास्थित सूर्य नारायण परिसरमा आयोजित कार्यक्रममा दीप प्रज्वलन, वन्दे मातरमको सामूहिक पाठ, डा. सुरज प्रकाशको तस्बिरमा पुष्पाञ्जली अर्पण तथा केक काटेर औपचारिक शुभारम्भ गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रजनीश प्रियदर्शीले डा. सुरज प्रकाशको सम्पूर्ण जीवन राष्ट्रसेवा, मानवता र समर्पणको अनुपम उदाहरण रहेको बताउनुभयो। उहाँले डा. सुरज प्रकाशका आदर्श र सिद्धान्तले भारत विकास परिषद्का सदस्यहरूलाई सेवा, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको मार्गमा निरन्तर प्रेरित गरिरहेको उल्लेख गर्नुभयो।

कोषाध्यक्ष सुनिल कुमार तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज विमल कुमार सर्राफले भारत विकास परिषद् केवल एउटा सामाजिक संस्था नभई सेवा, संस्कार, सहयोग, सम्बन्ध र समर्पणमा आधारित राष्ट्रिय अभियानका रूपमा स्थापित भएको धारणा व्यक्त गर्नुभयो। उहाँहरूले सन् १९६३ मा २० जना प्रतिष्ठित नागरिकको पहलमा स्थापना भएको परिषद् आज देशव्यापी सशक्त सामाजिक संस्थाका रूपमा विकसित भई राष्ट्र निर्माण र जनसेवाका विविध क्षेत्रमा सक्रिय रहेको जानकारी दिनुभयो।

कार्यक्रममा सम्पर्क संयोजक उमेश सिकारिया, संस्कृति संयोजक नितेश कुमार सिंह, वातावरण संयोजक विजय कुमार साह तथा अजय कुमारले डा. सुरज प्रकाशको प्रेरणादायी जीवनयात्रा, भारत विभाजनका बेला उहाँले पुर्‍याएको मानवीय योगदान तथा भारत विकास परिषद्को स्थापना र विस्तारबारे प्रकाश पार्दै उहाँका आदर्शलाई आत्मसात् गर्न सबैलाई आग्रह गर्नुभयो।

वक्ताहरूले सन् १९६२ को भारत–चीन युद्धपछि स्थापित नागरिक परिषद् नै सन् १९६३ मा भारत विकास परिषद्का रूपमा विकसित भएको उल्लेख गर्दै परिषद्ले आज राष्ट्र निर्माण, सामाजिक सेवा, संस्कार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा जनकल्याणका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए।

कार्यक्रमको समापन राष्ट्रिय गानसँग गरिएको थियो। कार्यक्रममा सुनिल कुमार, उमेश सिकारिया, नितेश कुमार सिंह, विमल कुमार सर्राफ, सुरेश धानोठिया, अजय कुमार, प्रशान्त कुमार, अरुण कुमार, विनोद कुमार, धरमनाथ प्रसाद, महिला सहभागिता प्रमुख मेनका गुप्ता, विनोद रौनियार, सन्तोष कुमार, दिनेश प्रसाद, किरण गुप्ता, सीमा गुप्ता लगायत शाखाका पदाधिकारी, सदस्य तथा ठूलो संख्यामा सहभागीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमबारे जानकारी सम्पर्क संयोजक उमेश सिकारिया तथा सेवा संयोजक एवं मिडिया इन्चार्ज विमल कुमार सर्राफले दिएका थिए।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM