अभिलाष गुप्ता
वीरगञ्ज, असार १७

वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत अमरचोक (बोखार चोक) नजिक लक्ष्मीनारायण पार्टी प्यालेसको पूर्वपट्टि रहेको गल्लीमा नाला निर्माण नगरी सडक ढलान गरिएको भन्दै स्थानीयवासीले तीव्र विरोध जनाएका छन्। स्थानीयले ठेकेदार र वडाध्यक्ष दुवैको भूमिकामाथि प्रश्न उठाउँदै भौतिक पूर्वाधार विकास कार्यालय, वीरगञ्ज तथा महानगरपालिकामा लिखित निवेदन समेत दिएका छन्।
स्थानीयका अनुसार मधेस प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास कार्यालय, वीरगञ्जबाट उक्त सडक ढलान तथा नाला निर्माणको टेन्डर भएको थियो। ठेक्का पाएका वीरगञ्ज–१६ निवासी ठेकेदार भुषाल चौरसियाले सम्झौताअनुसार नाला र सडक दुवै निर्माण गर्नुपर्ने भए पनि नालाको लागि आवश्यक स्थान नै नछाडी सडक ढलान गरिरहेको आरोप स्थानीयको छ।
स्थानीयले दिएको निवेदनमा ठेकेदारले कमसल निर्माण सामग्री प्रयोग गरी गुणस्तरहीन ढंगबाट काम गरिरहेको उल्लेख गरिएको छ। निवेदनमा टेन्डर स्वीकृत बमोजिम १३ फिट चौडाइमा सडक निर्माण हुनुपर्नेमा जबरजस्ती १५ फिटमा ढलान गरिएको र नाला निर्माण पूर्ण रूपमा बेवास्ता गरिएको दाबी गरिएको छ।
स्थानीयवासीका अनुसार उनीहरूले पहिले नाला निर्माण गरेर मात्रै सडक ढलान गर्न आग्रह गर्दा ठेकेदारले “नाला बनाउँदिन, सडक मात्रै ढलान गर्छु, जहाँ खोज्नु छ खोज” भन्दै ठाडो जवाफ दिएको उल्लेख गरिएको छ। त्यसपछि स्थानीयले निर्माण कार्य रोक्का गरी सम्झौताअनुसार नाला सहितको सडक निर्माण गराउन सम्बन्धित निकायमा निवेदन दिएका हुन्।
सोही वडाका धिरज कुमार ठाकुरका अनुसार वडाध्यक्ष प्रशुराम चौरसियाले “सडक बनेपछि चार–पाँच महिनामा सडकको बीचबाट नाला निकालिदिन्छु” भन्ने अभिव्यक्ति दिएको बताए। स्थानीयले भने सडक निर्माणपछि बीचबाट नाला निकाल्ने योजना अव्यावहारिक र थप क्षति निम्त्याउने भन्दै आपत्ति जनाएका छन्।
स्थानीयवासीले उचित ढल निकासको व्यवस्था नगरी सडक निर्माण गरिए वर्षायाममा पानी जम्ने, घर–आँगन डुबानमा पर्ने तथा आवागमनमा समस्या हुने बताएका छन्। उनीहरूले वडाध्यक्ष प्रशुराम चौरसियाले स्थानीयको सुझाव र आवश्यकतालाई बेवास्ता गर्दै आफ्नो पद र शक्तिको दुरुपयोग गरेको आरोप समेत लगाएका छन्।
स्थानीयले भौतिक पूर्वाधार विकास कार्यालय र वीरगञ्ज महानगरपालिकासँग तत्काल निर्माण कार्यको अनुगमन गरी टेन्डर तथा सम्झौता बमोजिम नाला सहितको सडक निर्माण गराउन माग गरेका छन्।
यता, यस विषयमा वडाध्यक्ष प्रशुराम चौरसियाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। स्थानीयले सम्बन्धित निकायले समयमै ध्यान नदिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।























