अभिलाष गुप्ता
वीरगञ्ज, असार १८

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सवारी साधनमा अनधिकृत रूपमा जडान गरिएका कालो सिसा (ब्ल्याक फिल्म) तथा कालो स्टिकर हटाउने अभियानलाई तीव्र बनाएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ को निर्देशनमा सञ्चालन गरिएको अभियान अन्तर्गत विभिन्न सवारी साधनबाट कालो सिसा तथा स्टिकर हटाइएको हो।
ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृति बिना कुनै पनि सवारी साधनको रङ, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था रहेको जनाएको छ। यसै कानुनी प्रावधानअनुसार सवारी साधनमा जडान गरिएका कालो सिसा तथा स्टिकर हटाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कालो सिसा प्रयोग गर्दा सवारीभित्रको गतिविधि बाहिरबाट देख्न नसकिने भएकाले सुरक्षा निगरानी, अपराध नियन्त्रण तथा अनुसन्धानमा समस्या उत्पन्न हुने गर्दछ। यस्ता सामग्रीले आपराधिक गतिविधि लुकाउन सहयोग पुग्न सक्ने तथा सार्वजनिक सुरक्षा र शान्ति व्यवस्थामा समेत चुनौती सिर्जना गर्न सक्ने भएकाले अभियान सञ्चालन गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सबै सवारीधनी तथा चालकलाई कानुनविपरीत कालो सिसा वा स्टिकर प्रयोग नगर्न आग्रह गरेको छ। यदि यस्ता सामग्री प्रयोग गरिएको पाइएमा कानुनअनुसार हटाइने तथा आवश्यक कारबाहीसमेत गरिने चेतावनी दिएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा, पारदर्शिता तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि यस्ता अनुगमन तथा कारबाहीलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।























