अभिलाष गुप्ता
वीरगञ्ज, असार २२

अस्ट्रेलियामा निधन भएका पर्साका राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया तीव्र पारिएको छ। आर्थिक अभावका कारण लामो समयदेखि रोकिएको शव स्वदेश फिर्ता गर्ने अभियानमा अस्ट्रेलियामा रहेका नेपाली मधेसी समुदायका सदस्य तथा इन्जिनियर आर्यन राउत सक्रिय रूपमा जुटेका छन्।
राउतको पहलमा अस्ट्रेलियास्थित नेपाली समुदायबाट आर्थिक सहयोग संकलन, आवश्यक कानुनी प्रक्रिया तथा सम्बन्धित निकायसँग समन्वय गर्ने काम अघि बढाइएको छ। यस अभियानमा सिड्नीमा बसोबास गर्दै आएका Association of Nepal Terai Australia (A.N.T.A.) का पूर्वअध्यक्ष तथा RFM Facility Management का निर्देशक रञ्जित साह समेत सक्रिय रूपमा सहभागी छन्। उनीहरूले राकेशको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक समन्वय गरिरहेका छन्।
आर्यन राउतका अनुसार पर्साका सांसद सुशील कानु ले संसदमा करिब तीन महिनादेखि अस्ट्रेलियामै रहेको राकेश पटेलको शव नेपाल ल्याउन सरकारको ध्यानाकर्षण गराएको समाचारबाट आफू यस घटनाबारे जानकार भएका थिए। त्यसपछि नेपालमा रहेका आफ्ना बुबा राम आर्य को सल्लाहमा उनले मृतकका बुबा पर्सागढी नगरपालिका–७ बागेश्वरी निवासी बिराज पटेलसंग सम्पर्क गरी शव स्वदेश ल्याउने अभियानमा सक्रिय रूपमा जुटेका हुन्।
आर्यन राउत यसअघि पनि अस्ट्रेलियामा रहेका नेपाली साथीहरूको सहयोगमा नेपालका असहाय तथा विपन्न नागरिकलाई विभिन्न मानवीय सहयोग उपलब्ध गराउँदै आएका छन्। यस पटक पनि अस्ट्रेलियामा रहेका नेपाली समुदाय तथा विभिन्न सामाजिक संघ–संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। विदेशमा दुःखद परिस्थितिमा परेका नेपाली परिवारलाई साथ दिने उद्देश्यले सञ्चालन गरिएको यो अभियानलाई मानवताको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ।
परिवारका अनुसार राकेश पटेल सात वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यहाँ केही वर्ष काम गरी आफ्नै कमाइबाट दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए।
मृतकका बुबा बिराज पटेलका अनुसार अस्ट्रेलियामा रहँदा राकेश एक युवतीसँग प्रेम सम्बन्धमा थिए। पछि ती युवतीको अर्कै व्यक्तिसँग पनि सम्बन्ध रहेको थाहा पाएपछि राकेशले सोधपुछ गरेका थिए। त्यसपछि ती युवतीले आफूलाई झुट्टा मुद्दामा फसाइ एक वर्ष जेल हालिदिने धम्की दिएको र त्यसैको मानसिक तनावका कारण राकेशले आत्महत्या गरेको हुन सक्ने परिवारको आशंका छ। यस दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।
मजदुरी गरेर परिवारको जीविकोपार्जन गर्दै आएका बिराज पटेलले छोराको शव नेपाल ल्याइदिन भन्दै काठमाडौं पुगेर सम्बन्धित निकायमा निवेदनसमेत दिएका थिए। उनले वैशाख २२ गते छोराको निधनको खबर पाएको बताए। तीन महिनासम्म शव अस्ट्रेलियामै रहँदा परिवार पीडामा रहेको भन्दै अहिले आर्यन राउतको पहलबाट प्रक्रिया अगाडि बढेकाले चाँडै छोराको शव नेपाल ल्याउन सकिने आशा व्यक्त गरेका छन्।
अभियानलाई थप प्रभावकारी बनाउन अस्ट्रेलियामा रहेका नेपाली समुदाय, विभिन्न सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूलाई आवश्यक सहयोगका लागि आह्वानसमेत गरिएको छ।























