अभिलाष गुप्ता
वीरगञ्ज, असार २२

पर्साको ठोरीस्थित नेपाल–भारत सीमा नाका तथा छोटी भन्सार कार्यालय तत्काल सञ्चालनमा ल्याई पर्यटकको आवागमन सहज बनाउन माग गर्दै पर्यटन विकास समिति, ठोरीले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
समितिका सचिव रवि पौडेलद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा ठोरी सीमा नाका ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा आर्थिक दृष्टिले नेपाल–भारतबीचको महत्वपूर्ण प्रवेशद्वार रहेको उल्लेख गरिएको छ। ठोरी मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको र यहाँ चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलका कारण स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुँदै आएको समितिको भनाइ छ।
ज्ञापनपत्रमा पर्यटन क्षेत्रमा करिब एक अर्ब रुपैयाँभन्दा बढी निजी लगानी भइसकेको, सयौँले प्रत्यक्ष तथा हजारौँले अप्रत्यक्ष रोजगारी पाइरहेको उल्लेख गर्दै पछिल्ला केही दिनदेखि सीमा नाकाबाट पर्यटकलाई फर्काइँदा पर्यटन व्यवसाय, स्थानीय अर्थतन्त्र र नेपालको पर्यटन छविमा नकारात्मक असर परेको जनाइएको छ।
समितिले ठोरीमा स्थापना गरिएको छोटी भन्सार कार्यालय आवश्यक कर्मचारी र व्यवस्थापनको अभावमा प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गर्दै पर्यटकको आवागमन तत्काल सुचारु गर्न, भन्सार कार्यालय नियमित सञ्चालनमा ल्याउन, सुरक्षा तथा राजस्व व्यवस्थापनलाई प्रभावकारी बनाउन र ठोरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक सरकारी पहल गर्न माग गरेको छ।























