अभिलाष गुप्ता
वीरगञ्ज, असार २३
सशस्त्र प्रहरी बलको सक्रिय सीमा निगरानी तथा चेकजाँच अभियानअन्तर्गत वीरगञ्जबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। साथै, छुट्टै कारबाहीका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरका अवैध औषधि पनि बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा रोकी जाँच गरेको थियो।
जाँचका क्रममा ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद लागूऔषधमा डाइजोपाम २०० एम्पुल, हाइड्रोक्लोराइड २०० एम्पुल तथा बुप्रेनोर्फिन २ एम्पुल रहेका छन्।
घटनामा संलग्न उक्त महिलासहित ई–रिक्सामा रहेका अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको छ। बरामद लागूऔषध, प्रयोग गरिएको ई–रिक्सा तथा पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरीको बीओपी सिर्सियाबाट खटिएको टोलीले भन्सार छली नेपाल भित्र्याइएका ठूलो परिमाणका अवैध औषधि पनि बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार प्रहरी टोली पुगेपछि तस्करहरू सामान छाडेर फरार भएका थिए। घटनास्थलबाट करिब पाँच लाख रुपैयाँ मूल्य बराबरका चार कार्टुन भिटामिनलगायत विभिन्न प्रकारका औषधि बरामद गरिएको हो।
बरामद गरिएका अवैध औषधिहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।
सीमावर्ती क्षेत्रमा लागूऔषध तथा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ।
























