अभिलाष गुप्ता
वीरगञ्ज, असार २६
वीरगञ्ज महानगरपालिकाको मुख्य सडक निर्माण तथा विस्तारसम्बन्धी बहुप्रतीक्षित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिइएको छ। सडक डिभिजन कार्यालय र वीरगञ्ज महानगरपालिकाबीच भएको संयुक्त बैठकबाट डीपीआरलाई स्वीकृत गर्दै आधुनिक तथा सुविधासम्पन्न सडक निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो।
डीपीआरअनुसार मुख्य सडक निर्माणका लागि कुल ४ अर्ब ३७ करोड ७१ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। सडक डिभिजन कार्यालयका अनुसार निर्माण कार्य सुरु भएको मितिले तीन वर्षभित्र सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ।
परियोजनाअन्तर्गत मुख्य सडकलाई आधुनिक सहरी पूर्वाधारअनुकूल विकास गरिनेछ। सडकको दुवै किनारामा व्यवस्थित फुटपाथ, प्रभावकारी ढल निकास प्रणाली, सडक बत्ती, हरियाली प्रवर्द्धन तथा ट्राफिक व्यवस्थापनका आवश्यक संरचना निर्माण गरिने योजना छ।
यसैगरी, विद्युत्, इन्टरनेट, वाइफाइ, टेलिफोन तथा अन्य सञ्चार सेवाका सबै तारलाई भूमिगत (अन्डरग्राउन्ड) रूपमा व्यवस्थापन गरिने डीपीआरमा उल्लेख गरिएको छ। यसबाट सडकको सौन्दर्य वृद्धि हुनुका साथै तारहरूको अव्यवस्थित जालो हट्ने, दुर्घटनाको जोखिम कम हुने र सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालयका अधिकारीहरूका अनुसार यो परियोजनाले वीरगञ्जको मुख्य सडकलाई सुरक्षित, आकर्षक र आधुनिक सहरी पूर्वाधारयुक्त बनाउनेछ। साथै बढ्दो सवारी चाप व्यवस्थापन, व्यापारिक गतिविधिमा सहजता तथा नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
डीपीआरलाई अन्तिम रूप दिन आयोजित बैठकमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह तथा सडक डिभिजन कार्यालयका सम्बन्धित अधिकारीहरूको सहभागिता रहेको थियो। अब आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी बजेट व्यवस्थापनपछि निर्माण कार्य अघि बढाइने जनाइएको छ।
परियोजना कार्यान्वयनमा आएपछि वीरगञ्जको मुख्य सडकको स्वरूपमा व्यापक परिवर्तन आउने, आधुनिक शहरी पूर्वाधार विकाससँगै स्थानीय बासिन्दा, व्यवसायी तथा सर्वसाधारणले गुणस्तरीय सडक सेवाको प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

























