२०८३ श्रावण २६ गते मंगलवार

खाद्य अनुमति नलिई बबलगम उत्पादन तथा बिक्री वितरण, पोप्स फुड प्रोडक्सलाई ३ दिनभित्र उपस्थित हुन निर्देशन

 

वीरगञ्जस्थित पोप्स फुड प्रोडक्सले खाद्य अनुमतिपत्र नलिई खाद्य पदार्थ (बबलगम) उत्पादन तथा बिक्री वितरण गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जको नेतृत्वमा खटिएको अनुगमन टोलीले उद्योग तथा व्यापारिक फर्मको निरीक्षण गर्ने क्रममा यस्तो अवस्था फेला पारेको हो।

अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनी प्रावधानको पालना नगरी बबलगम उत्पादन तथा बिक्री वितरण भइरहेको पाइएको टोलीले जनाएको छ। साथै, Damaged Goods क्षेत्र निर्धारण गरी बजारबाट फिर्ता आएका खाद्य पदार्थ व्यवस्थापनसम्बन्धी विषयमा समेत आवश्यक सुधार गर्न निर्देशन दिइएको छ।

अनुगमन टोलीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३ बमोजिम खाद्य अनुमतिपत्र लिएर मात्र खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण गर्नुपर्ने व्यवस्था भए पनि उद्योगले अनुमति नलिएको पाइएको जनाएको छ।

त्यसैगरी, ऐनको परिच्छेद ८ अन्तर्गत दफा २९ को उपदफा (६) को खण्ड (ङ) बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै अर्को आदेश नभएसम्म बबलगमको उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको जनाइएको छ।

अनुगमन टोलीले उद्योगलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी सम्पूर्ण कानुनी मापदण्डको पूर्ण पालना गरेर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ।

उद्योग सञ्चालकलाई ३ दिनभित्र सम्पूर्ण आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा स्वयं उपस्थित हुन निर्देशन दिइएको छ। तोकिएको समयभित्र कागजातसहित उपस्थित भई उद्योग सञ्चालनसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न भनिएको अनुगमन टोलीले जनाएको छ।

खाद्य पदार्थको उत्पादन, बिक्री वितरण तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

Hindi

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM