अभिलाष गुप्ता
बर्दिबास

भिमानबाट बर्दिबासतर्फ जाने निर्माणाधीन राजमार्गमा सडकको बीचभागबाट बाहिर निस्किएको फलामे रडका कारण सवारीसाधन दुर्घटनाको उच्च जोखिम बढेको भन्दै तत्काल सुधारको माग गरिएको छ। वर्षाका कारण सडकमा पानी जम्दा रड नदेखिने भएकाले दैनिक सयौं सवारीसाधनका टायर पड्किने तथा दुर्घटनामा पर्ने अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष अशोक टेमानी पनि यही समस्याको शिकार बनेका छन्। उनका अनुसार पानीले भरिएको खाल्डोमा लुकेको रडमा गाडी चढ्दा एकैपटक गाडीका दुवै चक्का पड्किएका थिए। समयमै गाडी नियन्त्रणमा लिन सफल भएकाले ठूलो दुर्घटना टरेको उनले बताएका छन्।
टेमानीले सामाजिक सञ्जालमार्फत निर्माणाधीन सडकमा यस्ता घातक अवस्था रहनु गम्भीर लापरबाही भएको उल्लेख गर्दै यसबाट हुने क्षति र सम्भावित दुर्घटनाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन्। उनले सडक निर्माण कम्पनी, सम्बन्धित सडक विभाग तथा प्रशासनलाई तत्काल जिम्मेवार बन्न आग्रह गरेका छन्।
स्थानीय बासिन्दाले पनि उक्त सडकखण्डमा आवश्यक सुरक्षा मापदण्ड अपनाइएको नदेखिएको, चेतावनी संकेतको अभाव रहेको तथा जोखिमयुक्त स्थानको तत्काल मर्मत नगर्दा सर्वसाधारणको ज्यान नै जोखिममा परेको बताएका छन्।
सर्वसाधारणले सडक विभाग, सम्बन्धित निर्माण कम्पनी, स्थानीय प्रशासन तथा नेपाल सरकारको तत्काल ध्यानाकर्षण गराउँदै बाहिर निस्किएका रड हटाई सुरक्षित रूपमा सडक सञ्चालनको व्यवस्था गर्न, जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड राख्न तथा लापरबाही गर्ने पक्षमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।
























