सुन्तलाको भन्सार प्रज्ञापनपत्र देखाएर केरासमेत अवैध रूपमा ढुवानी गरिएको आशंकासहितको एउटा प्रकरण सार्वजनिक भएपछि वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। वीरगञ्ज भन्सारबाट जाँचपास भएर काठमाडौं पुगेको भारतीय नम्बर प्लेटको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएपछि यससँग सम्बन्धित थप दुई ट्रकमाथि समेत शंका उत्पन्न भएको हो।
प्राप्त विवरणअनुसार वीरगञ्ज महानगरपालिका–२५, श्रीसियास्थित आरोही इन्टरप्राइजेजको नाममा जाँचपास भएको भारतीय नम्बर प्लेट UP 25 FT 3659 को ट्रकलाई काठमाडौंको जडीबुटी क्षेत्रमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त ट्रकलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा समेत आवश्यक जाँचबुझ प्रक्रिया अघि बढाइएको बताइएको छ।
प्रारम्भिक विवरणअनुसार उक्त ट्रकमा ४०० क्यारेट सुन्तला र २०० क्यारेट केरा फेला परेको बताइएको छ। प्रतिक्यारेट १९ किलोका दरले ४०० क्यारेट सुन्तलाको कुल तौल ७ हजार ६०० किलो अर्थात् ७.६ मेट्रिक टन हुन्छ। त्यस्तै, २०० क्यारेट केरामा प्रतिक्यारेट करिब ९ दर्जनका दरले करिब १ हजार ८०० दर्जन केरा रहेको विवरण प्राप्त भएको छ।
ट्रकको बाहिरी भागमा सुन्तला राखेर बीचको भागमा केरा लुकाइएको अवस्थामा ढुवानी गरिएको प्रारम्भिक विवरणमा उल्लेख छ। यदि भन्सार प्रज्ञापनपत्रमा सुन्तला मात्रै उल्लेख गरी ट्रकमा केरा पनि राखेर जाँचपास गरिएको पुष्टि भएमा यो सामान्य कागजी त्रुटि नभई भन्सार प्रक्रियाको गम्भीर उल्लंघनको विषय बन्न सक्छ।
नेपालमा प्रतिबन्धित रहेको भनिएको केराको आयात भन्सार प्रक्रिया पूरा गरेर कसरी सम्भव भयो? प्रज्ञापनपत्रमा एउटा वस्तु उल्लेख हुँदा ट्रकभित्र अर्को वस्तुसमेत कसरी राखियो? भौतिक जाँचका क्रममा यस्तो विषय किन पहिचान हुन सकेन? यी प्रश्न अहिले चर्चामा छन्।
थप दुई ट्रकमाथि पनि अनुसन्धानको आशंका
यस प्रकरणमा सबैभन्दा चासोको विषय आरोही इन्टरप्राइजेजकै नाममा जाँचपास भएका थप दुई भारतीय नम्बर प्लेटका ट्रक MH30CE0083 र UK04CC2831 समेत वीरगञ्ज भन्सार परिसरमै रहेको बताइएको छ।
स्रोतका अनुसार ती दुवै ट्रकले भन्सार प्रक्रिया पूरा गरी गेटपाससमेत प्राप्त गरिसकेका थिए। तर काठमाडौंमा पहिलो ट्रक प्रहरी नियन्त्रणमा परेको खबर सार्वजनिक भएपछि ती ट्रकलाई वीरगञ्ज भन्सार परिसरमै पार्किङ गरेर राखिएको दाबी गरिएको छ।
स्रोतको दाबीअनुसार ती ट्रकमा पनि केरा तथा अन्य फलफूल रहेको र वास्तविक तौलभन्दा कम तौल उल्लेख गरेर भन्सार प्रक्रिया पूरा गरिएको हुन सक्ने आशंका गरिएको छ। यस विषयमा एक भन्सार कर्मचारीले समेत जानकारी दिएको बताइएको छ।
वीरगञ्ज आईसीपीले पनि उक्त विषयमा निगरानी राखेको र ती दुवै ट्रकको जाँच प्रक्रिया अघि बढाउने तयारी भइरहेको स्रोतको भनाइ छ। यद्यपि, ती ट्रकमा के कति परिमाणमा फलफूल छन् र भन्सार कागजातमा उल्लेख भएको विवरण वास्तविक अवस्थासँग मेल खान्छ कि खाँदैन भन्ने कुरा आधिकारिक जाँचपछि मात्रै स्पष्ट हुनेछ।
भन्सार राजस्व र जाँचपास प्रणालीमाथि प्रश्न
एउटा ट्रक काठमाडौं पुगेर प्रहरी नियन्त्रणमा परेपछि मात्रै यो प्रकरण सार्वजनिक भएको हो। तर, सोही व्यवसायसँग सम्बन्धित थप दुई ट्रकले समेत भन्सार प्रक्रिया पूरा गरी गेटपास प्राप्त गरिसकेको दाबी सार्वजनिक भएपछि भन्सारको जाँच प्रणाली कति प्रभावकारी छ भन्ने प्रश्न उठेको छ।
यदि वास्तविक तौलभन्दा कम तौल उल्लेख गरी भन्सार जाँचपास गरिएको पुष्टि भएमा यसले राज्यको राजस्वमा समेत असर पार्न सक्छ। त्यसैले ट्रकमा रहेको फलफूलको वास्तविक परिमाण, तौल, प्रज्ञापनपत्रमा उल्लेखित विवरण तथा जाँचपास प्रक्रियामा संलग्न पक्षहरूको भूमिकाबारे निष्पक्ष छानबिन आवश्यक देखिएको छ।
नियन्त्रणमा रहेको ट्रकका चालक धनिराम राजपुत रहेको र उनी भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लाका बासिन्दा रहेको विवरण प्राप्त भएको छ।
भन्सार प्रक्रियाअनुसार नियन्त्रणमा लिइएका सुन्तला तथा केरासम्बन्धी आवश्यक कानुनी र कागजी प्रक्रिया पूरा भएपछि लिलामी गरिने बताइएको छ। तर, लिलामी प्रक्रिया मात्रै यस प्रकरणको समाधान होइन। भन्सार कागजात र वास्तविक मालवस्तुबीचको अन्तर कसरी उत्पन्न भयो भन्ने विषयको छानबिन पनि उत्तिकै आवश्यक छ।
अनुसन्धानबाट जवाफ खोजिनुपर्ने मुख्य प्रश्न १. सुन्तलाको प्रज्ञापनपत्रमा केरा समेत राखेर भन्सार जाँचपास कसरी भयो?२. वास्तविक तौलभन्दा कम तौल उल्लेख गरिएको हो भने त्यसको जिम्मेवारी कसले लिने?३. काठमाडौंमा एउटा ट्रक पक्राउ परिसकेपछि पनि थप दुई ट्रकले कसरी भन्सार गेटपास प्राप्त गरे?४. ती दुई ट्रकमा समेत केरा र अन्य फलफूल रहेको आशंका कति सत्य हो?५. भन्सार जाँचपासमा सामान्य लापरबाही भएको हो वा कुनै प्रकारको मिलेमतोको आशंका छ?
वीरगञ्ज भन्सार कार्यालय, वीरगञ्ज आईसीपी तथा सम्बन्धित अनुसन्धान निकायले यी प्रश्नको तथ्यपरक जवाफ सार्वजनिक गर्नुपर्ने देखिन्छ। काठमाडौंमा नियन्त्रणमा लिइएको ट्रकको भन्सार कागजात, मालवस्तुको वास्तविक तौल तथा बाँकी दुई ट्रकको निष्पक्ष जाँच गरी आवश्यक अनुसन्धान अघि बढाउनुपर्ने मागसमेत उठ्न थालेको छ।
एउटा ट्रक नियन्त्रणमा परेपछि मात्रै यो प्रकरण टुंगिँदैन। बाँकी दुई ट्रकको अवस्था, भन्सार कागजातको सत्यता, तौलको विवरण र जाँचपासमा संलग्न व्यवसायी तथा कर्मचारीहरूको भूमिकासमेत अनुसन्धानको दायरामा आउन आवश्यक छ।
आखिर सुन्तलाको नाममा केरा ढुवानी भएको आशंका कसरी उत्पन्न भयो? भन्सार जाँचपास प्रक्रियामा कहाँ कमजोरी भयो? यसमा कसैको संलग्नता छ वा छैन? अब सम्बन्धित निकायको निष्पक्ष अनुसन्धान र त्यसबाट आउने निष्कर्षले नै वास्तविकता सार्वजनिक गर्नेछ।
























