वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको नवीकरण कार्यलाई सहज, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन वीरगञ्ज महानगरपालिका वडा नं. ५ ले घरदैलोमै पुगेर नवीकरण सेवा प्रदान गर्ने अभियान सञ्चालन गरेको छ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीको नवीकरण Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्था रहेकाले वडा कार्यालयसम्म आउन नसक्ने वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका तथा अस्वस्थ नागरिकलाई लक्षित गरी घरदैलो सेवा सञ्चालन गरिएको हो।
वडा कार्यालयसम्म पुग्न कठिन हुने नागरिकलाई सेवा लिनकै लागि कार्यालय धाउनुपर्ने बाध्यता हटाउँदै वडाले सेवाग्राहीकै घरमा पुगेर आवश्यक प्रक्रिया पूरा गरिदिएको हो। यसबाट विशेषगरी शारीरिक रूपमा अशक्त तथा हिँडडुल गर्न कठिनाइ भएका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ।
घरदैलो अभियानअन्तर्गत वडा कार्यालयका निर्वाचित जनप्रतिनिधि, वीरगञ्ज महानगरपालिकाको पञ्जीकरण शाखाका प्रतिनिधि तथा वडा कर्मचारीहरूको संयुक्त टोली परिचालन गरिएको थियो। टोलीले सेवाग्राहीको घरमै पुगेर आवश्यक विवरण संकलन तथा Biometric Verification मार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणको प्रक्रिया पूरा गरेको जनाएको छ।
अभियान वडा अध्यक्ष प्रदीप कुमार चौरसियाको नेतृत्वमा सञ्चालन भएको थियो। टोलीमा वीरगञ्ज महानगरपालिका पञ्जीकरण शाखा प्रमुख बुद्धि माया थापा, पञ्जीकरण शाखाकी अमृता साह, वडा सचिव अरुण बस्नेत, कम्प्युटर अपरेटर करिना श्रेष्ठ तथा वडा सदस्यहरू सञ्जु दाहाल, मनोज साह, मन्जु परियार र रुस्तम अलि लगायतको सहभागिता रहेको थियो।
घरमै बसेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएपछि वृद्धवृद्धा तथा अशक्त नागरिकहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले आफूहरू वडा कार्यालयसम्म पुग्न नसक्ने अवस्थामा जनप्रतिनिधि तथा कर्मचारीहरू घरमै आएर सेवा प्रदान गरेको भन्दै वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, वडा अध्यक्ष प्रदीप कुमार चौरसिया तथा सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरेका छन्।
सेवाग्राहीलाई सहज र सरल रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस प्रकारको घरदैलो अभियानले स्थानीय सरकार नागरिकको घरसम्म पुगेर सेवा दिनुपर्छ भन्ने अवधारणालाई व्यवहारमै कार्यान्वयन गरेको स्थानीयवासीको भनाइ छ।
विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा स्वास्थ्यका कारण वडा कार्यालयसम्म पुग्न नसक्ने सेवाग्राहीलाई लक्षित गरी गरिएको यो पहलले सामाजिक सुरक्षा भत्ता नवीकरणमा देखिने व्यावहारिक कठिनाइसमेत कम गर्ने अपेक्षा गरिएको छ।
नागरिकलाई कार्यालयमा बोलाएर सेवा दिनुभन्दा आवश्यकताअनुसार घरमै पुगेर सेवा प्रदान गर्ने वडा नं. ५ को यो पहलको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवाहरूलाई थप सहज, पहुँचयोग्य र प्रभावकारी बनाउँदै लैजाने अभियानअन्तर्गत घरदैलो नवीकरण सेवा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
























