बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय बालक आदित्य पासवानको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। जीवनमरणको अवस्थामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्ज ल्याइएका बालकको तत्काल आकस्मिक उपचार, जटिल शल्यक्रिया तथा सघन उपचारपछि स्वास्थ्यमा सकारात्मक सुधार देखिएको हो। अस्पतालले आदित्यलाई उपलब्ध गराएका सम्पूर्ण उपचार सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गरेको जनाएको छ।
२०८३ कात्तिक १४ गते (अक्टोबर ३१, २०२६) बिहान करिब १०ः३० बजे गोली लागेका आदित्यलाई करिब एक घण्टापछि बिहान ११ः३० बजे नेशनल मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याइएको थियो। अस्पताल ल्याउँदा उनको अवस्था अत्यन्तै गम्भीर थियो। अत्यधिक रक्तस्रावका कारण उनी रक्तस्रावजन्य आघात (Hypovolemic Shock) मा थिए। रक्तचाप र मुटुको धड्कन अस्थिर हुनुका साथै नाडीसमेत अत्यन्त कमजोर थियो।
गोली लागेर पेटभित्रका आन्द्रामा व्यापक क्षति पुगेको थियो भने आन्द्राका केही भाग पेटको घाउबाट बाहिर निस्किएका थिए। तत्काल विशेषज्ञ उपचार र शल्यक्रिया नगरिए ज्यानै जाने जोखिम रहेको अवस्थामा अस्पतालको चिकित्सकीय टोलीले तत्काल उपचार प्रक्रिया अघि बढाएको थियो।
विशेषज्ञ टोलीद्वारा जटिल आकस्मिक शल्यक्रिया
बालकको गम्भीर अवस्थालाई ध्यानमा राख्दै पेडियाट्रिक सर्जरी विभागका कन्सल्टेन्ट डा. विनोद कुमार रायको नेतृत्वमा जनरल सर्जन डा. आदित्य प्रसाद तथा अर्थोपेडिक सर्जन डा. रविन्स कुमार शाह सम्मिलित विशेषज्ञ टोलीले जटिल शल्यक्रिया गरेको थियो।
शल्यक्रियाका क्रममा क्षतिग्रस्त आन्द्राको भाग हटाउने, आन्द्राका भाग पुनः जोड्ने, आन्द्रामा भएका प्वालहरू मर्मत गर्ने तथा मल निष्कासनका लागि वैकल्पिक मार्ग बनाउनेलगायतका जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो। साथै, दाहिने ग्लुटियल क्षेत्रमा रहेको गोलीसमेत निकालिएको थियो।
शल्यक्रिया सफल भए पनि बालकको अवस्था अझै गम्भीर रहेकाले उनलाई तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखिएको थियो।
आईसीयूमा चौबीसै घण्टा निगरानी र जीवनरक्षक उपचार
शल्यक्रियापछि आईसीयू इन्चार्ज डा. निरज केयाल तथा एनेस्थेसिया विभागका डा. राजेश यादवको निगरानीमा उपचार अघि बढाइएको थियो।
रातिको समयमा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो। रक्तचाप तथा रक्तसञ्चार कायम राख्न तीन प्रकारका शक्तिशाली औषधि, भेन्टिलेटरको सहायता, चार युनिट रगत तथा दुई युनिट फ्रेश फ्रोजन प्लाज्मा (FFP) आवश्यक परेको अस्पतालको उपचार अभिलेखमा उल्लेख छ।
अत्यन्त संवेदनशील अवस्थामा चिकित्सक, नर्सिङ तथा प्राविधिक टोलीले चौबीसै घण्टा उपचार र निरन्तर निगरानीलाई प्राथमिकता दिएका थिए।
सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोरेको
नेशनल मेडिकल कलेजले आदित्य अस्पतालमा रहँदासम्म प्राप्त गरेका सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।
आकस्मिक उपचार, जटिल शल्यक्रिया, आईसीयू सेवा, औषधि, रक्तसञ्चार, प्रयोगशाला परीक्षण तथा अन्य आवश्यक चिकित्सकीय सेवाबापत परिवारसँग कुनै शुल्क नलिइएको अस्पतालले जनाएको छ।
आर्थिक अवस्थाका कारण जीवनरक्षक उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले अस्पताल प्रशासनले उपचारमा लागेको सम्पूर्ण खर्च आफैँले व्यहोरेको हो। अस्पतालको यस कदमले स्वास्थ्य सेवामा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
प्रबन्ध निर्देशकको नेतृत्वमा समन्वय, सेनाको हेलिकप्टरबाट काठमाडौं स्थानान्तरण
आदित्यको अवस्था गम्भीर रहेकाले थप विशेषज्ञ उपचारका लागि काठमाडौं लैजानुपर्ने आवश्यकता देखिएको थियो। त्यसका लागि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको नेतृत्वमा अस्पताल प्रशासनले नेपाल प्रहरी, नेपाली सेना तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गरेको थियो।
स्थानान्तरणअघि बालकका आफन्तलाई स्वास्थ्य अवस्था, थप उपचारको आवश्यकता तथा यात्राका क्रममा हुन सक्ने सम्भावित जोखिमबारे चिकित्सकीय परामर्शसमेत दिइएको थियो।
आफन्तको अनुरोधमा २०८३ कात्तिक १५ गते (नोभेम्बर १, २०२६) बिहान ११ः३९ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आदित्यलाई थप विशेषज्ञ उपचारका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीयूटीएच), महाराजगञ्ज, काठमाडौं स्थानान्तरण गरिएको थियो।भेन्टिलेटरबाट हटाइए आदित्य, होसमा आएर खान थाले खाना
जीवनमरणको अवस्थामा वीरगञ्ज ल्याइएका आदित्यको स्वास्थ्यमा अहिले उत्साहजनक सुधार आएको छ। शल्यक्रियापछि भेन्टिलेटर तथा रक्तचाप कायम राख्ने औषधिको सहायता आवश्यक परेका उनलाई अहिले भेन्टिलेटरबाट हटाइएको छ।
नोभेम्बर २ सम्म प्राप्त पछिल्लो जानकारीअनुसार आदित्य होसमा आएका छन्। उनी भेन्टिलेटरको सहायताबिना आफैँ सास फेरिरहेका छन् भने मुखबाट खाना खानसमेत थालेका छन्। उनी काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा थप उपचाररत छन्।
उनको स्वास्थ्यमा आएको सुधारले समयमै गरिएको आकस्मिक उपचार, विशेषज्ञ शल्यक्रिया, निरन्तर सघन उपचार तथा स्वास्थ्य संस्थाबीचको प्रभावकारी समन्वयको महत्वलाई उजागर गरेको छ।
विशेषज्ञ उपचार र मानवीय सेवाको उदाहरण
यस घटनामा नेशनल मेडिकल कलेजको भूमिका आकस्मिक शल्यक्रियामा मात्र सीमित रहेन। गम्भीर अवस्थाका बिरामीलाई तत्काल विशेषज्ञ उपचार उपलब्ध गराउने, सघन उपचार व्यवस्थापन गर्ने, सम्पूर्ण उपचार निःशुल्क प्रदान गर्ने तथा थप विशेषज्ञ उपचारका लागि उच्च जोखिमयुक्त स्थानान्तरणको व्यवस्था मिलाउनेसम्म अस्पतालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
मधेश प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतका सीमावर्ती क्षेत्रबाट समेत बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको आईएसओ ९००१ः२०१५ प्रमाणित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले यस घटनामार्फत विशेषज्ञ चिकित्सकीय दक्षता, आधुनिक उपचार सुविधा, मानवीय सेवा र संस्थागत समन्वयप्रतिको प्रतिबद्धता पुनः प्रस्तुत गरेको छ।
नेशनल मेडिकल कलेज परिवारले आदित्य पासवानको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ।























