वीरगञ्ज महानगरपालिका वडा नम्बर–१६ स्थित इनर्वा दक्षिण टोलमा जनमत पार्टीको आयोजनामा टोलस्तरीय दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रम्भा मिश्र, जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला उपाध्यक्ष नागेन्द्र गुप्ता, जिल्ला सचिव फुलेना कुशवाहा, सहसचिव सत्जुग साह, जिल्ला सदस्यहरू निकेश महतो, तुलसी राम, अलि अकबर मियाँ, दलित जिल्ला अध्यक्ष रामनरेश राम तथा नेता नसिबलाल सेठलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहसहित पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न मधेसी जनता सदैव सचेत र खबरदारीका साथ तयार रहनुपर्नेमा जोड दिए।
उनले वर्तमान सरकारले मधेस र मधेसी जनताको हकअधिकार कटौती गर्ने तथा सीमावर्ती नाकामा सर्वसाधारण नागरिकलाई अपराधीसरह व्यवहार गर्ने गरेको आरोप लगाए। यस्ता गतिविधिविरुद्ध छठ पर्वपछि ठूलो आन्दोलन गर्ने तयारी भइरहेको पनि उनले बताए।
कार्यक्रममा सहभागी नेताहरूले दीपावली तथा छठ पर्वको अवसरमा सम्पूर्ण टोलवासी तथा नगरवासीमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण जनमत पार्टी पर्साका जिल्ला प्रवक्ता सहनवाज राकीले गरेका थिए।
























