मानव सभ्यताको इतिहासको पहिलो लोकतान्त्रिक भूमिबाट ‘वैशाली इन्टरनेशनल गांधी पीस अवार्ड २०२६’ का लागि तीन नाम घोषणा
राष्ट्रपिता महात्मा गांधीको जन्मजयन्तीको अवसरमा ‘वैशाली इन्टरनेशनल गांधी पीस अवार्ड २०२६’ का लागि तीन विशिष्ट व्यक्तित्वको नाम घोषणा गरिएको छ। पुरस्कार छनोट समितिका प्रमुख सदस्यहरूले सर्वसम्मत रूपमा ती नाम छनोट गरेका हुन्।
छनोट समितिमा पद्मश्री डा. जितेन्द्र कुमार सिंह, पद्मश्री विमल जैन, पद्मश्री राजकुमारी देवी उर्फ ‘किसान चाची’, पद्मश्री अशोक विश्वास तथा मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमार सदस्य रहेका थिए। समितिले विस्तृत छलफलपछि तीनै जनाको नाममा सर्वसम्मत निर्णय गरेको हो।
छनोट भएका व्यक्तित्वमध्ये सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामालाई पत्रकारितामार्फत विश्वमा शान्ति, सद्भाव र मानवताको सन्देश प्रवर्द्धन गरेको योगदानका लागि सम्मानका लागि छनोट गरिएको छ।
त्यसैगरी, थाइल्यान्ड निवासी डा. पीसी चन्द्रलाई शान्ति, बौद्ध चिन्तन तथा मानवीय मूल्यको प्रवर्द्धनका क्षेत्रमा पुर्याएको योगदानका लागि सम्मानित गरिने भएको छ।
यस्तै, बिहारका चर्चित गांधीवादी चिन्तक पद्मश्री प्रो. रामजी सिंहलाई शान्ति, अहिंसा, गांधीवादी विचारको प्रवर्द्धन तथा पुस्तक लेखनका क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानका लागि यस अन्तर्राष्ट्रिय सम्मानका लागि छनोट गरिएको छ।
मानवाधिकार टुडेका सम्पादक डा. शशि भूषण कुमारले मानव सभ्यताको इतिहासमा पहिलो लोकतान्त्रिक भूमिका रूपमा परिचित वैशालीले भगवान महावीर र भगवान बुद्धका अहिंसा तथा शान्तिका सन्देशलाई विश्वभर फैलाएको बताए। यही प्रेरणाबाट पुरस्कारको सुरुवात गरिएको उनले जानकारी दिए।
अहिंसा र शान्तिका प्रवर्तक महात्मा गांधीको जन्मजयन्तीका अवसरमा पुरस्कारको घोषणा गर्नुको उद्देश्य शान्ति, अहिंसा, सद्भाव र मानवताका मूल्यलाई विश्वव्यापी रूपमा अघि बढाउनु रहेको डा. कुमारले बताए।
उनका अनुसार छनोट समितिले तीनै विशिष्ट व्यक्तित्वलाई ‘वैशाली इन्टरनेशनल गांधी पीस अवार्ड २०२६’ आगामी बिहारमा आयोजना हुने अन्तर्राष्ट्रिय अधिवेशनमा प्रदान गर्ने निर्णय गरेको छ। उक्त अधिवेशन सन् २०२७ जनवरी १७ र १८ गते आयोजना गर्ने प्रस्ताव गरिएको छ।
डा. शशि भूषण कुमारले पत्रकारिता, गांधीवादी चिन्तन तथा बौद्ध दर्शनमार्फत शान्ति र मानवीय मूल्यको प्रवर्द्धन गर्ने व्यक्तित्वलाई वैशालीको पवित्र भूमिबाट सम्मान गर्नु यस पहलको मूल भावना रहेको बताए।























