२०८३ कार्तिक १७ गते सोमबार

प्याब्सनद्वारा ‘क्रिएटिभ स्ट्रोक्स–२०८३’ अन्तर्गत चित्रकला प्रतियोगिता सम्पन्न

 

विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, कलात्मक प्रतिभा तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तर्गत ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

प्याब्सन जिल्ला कार्यसमिति पर्सा र प्याब्सन वीरगञ्ज महानगर समितिको संयुक्त आयोजनामा उक्त प्रतियोगिता वीरगञ्जस्थित क्लासिक बैंक्वेटमा सम्पन्न भएको हो।

प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि डा. शाक्यले विद्यार्थीहरूको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयहरूले प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान र सिर्जनात्मक क्षमता विकास गर्ने अवसर प्रदान गर्नु आजको आवश्यकता रहेको धारणा राख्नुभयो।

प्याब्सनका वरिष्ठ महिला उपाध्यक्ष शुशिला साहले गुणस्तरीय शिक्षासँगै विद्यार्थीभित्र लुकेका प्रतिभा र क्षमताको पहिचान तथा विकास गर्न यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

‘जहाँ रङहरू भेटिन्छन् सुन्दर अक्षरहरूसँग’ भन्ने मूल भावनासहित आयोजना गरिएको ‘प्याब्सन क्रिएटिभ स्ट्रोक्स–२०८३’ ले विद्यार्थीहरूमा कला, सिर्जनशीलता, कल्पनाशक्ति र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।

प्रतियोगितामार्फत विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयहरूबीच सिर्जनात्मक प्रतिस्पर्धा र कलात्मक सीपको विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM