वीरगञ्जमा विभिन्न लायन्स क्लबहरूको संयुक्त आयोजनामा आमाको माया छात्रावासमा खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ।
लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल, लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज लाइफलाइन र लायन्स क्लब अफ वीरगञ्ज प्रभुको संयुक्त आयोजनामा शुक्रबार बिहान छात्रावासमा रहेका विद्यार्थीहरूलाई खाना खुवाइएको हो। कार्यक्रमलाई लायन्स क्लब अफ ललितपुर एलिटले प्रायोजन गरेको थियो।
आमाको माया छात्रावासमा हाल ३० जना विद्यार्थी बस्दै आएका छन्। सामाजिक सेवामार्फत छात्रावासमा रहेका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकहरूले बताएका छन्।
यस्ता कार्यक्रमले सामाजिक सेवामा सहकार्य बढाउनुका साथै मानवीय सेवाको भावना थप सुदृढ बनाउने आयोजकहरूको विश्वास छ।
लायन्स क्लब अफ वीरगञ्ज लाइफलाइनका अध्यक्ष डा. लायन मनोजकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिस्ट्रिक्ट चिफ लायन चिन्तन बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा जोन चेयरपर्सन लायन नरोत्तम पाण्डे, जोन चेयरपर्सन लायन रुपा बज्राचार्यलगायतको उपस्थिति थियो।
त्यसैगरी लायन्स क्लब अफ वीरगञ्ज क्यापिटलका अध्यक्ष लायन कविता खड्का, लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन दिगम्बर थापा र लायन्स क्लब अफ वीरगञ्ज प्रभुका अध्यक्ष लायन सरिता रम्तेललगायत लायन्स पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
























