२०८३ आश्विन १६ गते शुक्रबार

२५ वर्षदेखि नियमनअन्तर्गत सञ्चालनमा छौँ, आरोपको निष्पक्ष परीक्षणका लागि तयार छौँ : नेशनल मेडिकल कलेज

 

प्रतिनिधिसभामा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा व्यक्त गरेका आरोप तथा टिप्पणीप्रति कलेज प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कलेज प्रशासनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा नेशनल मेडिकल कलेज सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको र करिब २५ वर्षदेखि सञ्चालनमा रहेको उल्लेख गरिएको छ।

कलेजका अनुसार यस अवधिमा संस्था चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन तथा नियामकीय प्रक्रियाअन्तर्गत सञ्चालन हुँदै आएको छ।

सांसद अन्सारीले उठाएका आरोपका सम्बन्धमा हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट आरोप पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको कलेजले जनाएको छ। यद्यपि, तथ्यमा आधारित, निष्पक्ष तथा पारदर्शी परीक्षणका लागि कलेज पूर्ण रूपमा तयार रहेको र सम्बन्धित निकायलाई आवश्यक सम्पूर्ण अभिलेख तथा विवरण उपलब्ध गराउन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार तथा अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको धारणा छ। अपुष्ट आरोपले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी तथा सर्वसाधारणमा अनावश्यक भ्रम र अविश्वास सिर्जना गर्न सक्ने कलेजले जनाएको छ।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा नियामकीय मापदण्डको पालनाप्रति पूर्ण प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM