वीरगञ्ज महानगरपालिका–९ स्थित ब्लड डोनेशन चौक, रानीघाटमा २७औँ पटक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम वडा नम्बर ९ का अध्यक्ष जवाहर गुप्ताको प्रमुख आतिथ्य तथा दुर्गा पूजा सेवा समिति रानीघाटका अध्यक्ष शतिस सिंह राजपुतको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यसमिति सदस्य दिनानाथ रौनियार, रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेलगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन पत्रकार वीरेन्द्र साहले गरेका थिए।
रक्तदान कार्यक्रममा ४ महिलासहित ५२ जनाले रक्तदान गरेका छन्। नियमित रूपमा रक्तदान गर्दै आएका रक्तदातासहित स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूले कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए।
रक्तदान गर्नेहरूमा पत्रकार राकेश साह, शतिस सिंह राजपुत, निरञ्जन प्रसाद, रामनरेश यादव, दीपक साह, अनिलकुमार चौरसिया, सजाद हवारी, कुलसरीक हवारी, कलामत मियाँलगायत रहेका थिए।
आयोजक दुर्गा पूजा सेवा समिति रानीघाटले मानवीय सेवाको भावनासहित नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रममा सहभागी वक्ताहरूले रक्तदानले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको अभाव कम गर्न महत्वपूर्ण सहयोग पुग्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्नेमा जोड दिएका थिए।
























