पर्साको जगरनाथपुर गाउँपालिका–४ सुहपुरस्थित अस्थायी प्रहरी चेकपोस्टमा कार्यरत प्रहरी जवानहरूको समस्यालाई मध्यनजर गर्दै युवा नेता बृजेश्वर प्रसाद चौधरीले सहयोग गरेका छन्। उनले प्रहरी चौकीको टिनको छानामुनि प्लाइ जडान गराएर प्रहरी जवानहरूलाई बस्न सहज हुने व्यवस्था मिलाएका हुन्।
टिनको छानो भएको प्रहरी चौकीमा गर्मी मौसममा चर्को घामका कारण अत्यधिक ताप बढ्ने र चिसो मौसम तथा वर्षायाममा टिनबाट पानी चुहिने समस्याले प्रहरी जवानहरूलाई बस्न तथा आराम गर्न निकै कठिनाइ हुँदै आएको थियो।
प्रहरी जवानहरूले आफ्नो समस्याबारे स्थानीय जनप्रतिनिधिहरूसमक्ष पटक–पटक जानकारी गराए पनि समाधानका लागि आवश्यक पहल हुन नसकेको गुनासो गरेका थिए।
अन्ततः प्रहरी जवानहरूले युवा नेता चौधरीसमक्ष आफ्नो समस्या राखेपछि उनले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सोहीअनुसार उनले एकै दिनमा आवश्यक सहयोग जुटाएर प्रहरी चौकीको टिनभित्र प्लाइ जडान गर्ने काम सम्पन्न गराएका हुन्।
प्लाइ जडान भएपछि गर्मी मौसममा टिनबाट आउने अत्यधिक ताप तथा चिसो र वर्षायाममा पानी चुहिने समस्याबाट प्रहरी जवानहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
सहयोगबारे युवा नेता चौधरीले प्रहरी जवानहरू सुरक्षित र सहज वातावरणमा रहे मात्रै आम नागरिकको सुरक्षा व्यवस्था प्रभावकारी हुन सक्ने बताए। उनले प्रहरी जवानहरूको सेवा, सुविधा र कार्यस्थलको अवस्थाप्रति समाजका सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे।
उनको सहयोगपछि प्रहरी जवानहरूले खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्। प्रहरीको कार्यस्थललाई सहज र सुरक्षित बनाउन गरिएको यो सहयोगलाई स्थानीय स्तरमा सकारात्मक सामाजिक पहलका रूपमा हेरिएको छ।
























