जगरनाथपुर गाउँपालिका–६, माधोपुरमा वर्षौंदेखि धार्मिक आस्था र संस्कृतिको संरक्षण गर्दै नियमित रूपमा भजन–कीर्तन तथा शिव चर्चा सञ्चालन गर्दै आएको मण्डलीलाई बृजेश्वर प्रसाद चौधरीले ८ हजार रुपैयाँ सहयोग गरेका छन्।
मण्डलीका अगुवा जगरनाथ साहलाई भजन–कीर्तनका लागि आवश्यक बाजागाजा तथा अन्य सामग्री व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले चौधरीले उक्त रकम प्रदान गरेका हुन्।
चौधरीले समाजमा दिनदुःखी, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्नुका साथै धार्मिक तथा सामाजिक गतिविधिमा आफ्नो अमूल्य समय समर्पण गर्दै आएका व्यक्तिहरूलाई पनि आवश्यक सहयोग गर्नुपर्ने बताए।
उनले वर्षौंदेखि निःशुल्क रूपमा भजन–कीर्तन तथा धार्मिक गतिविधिमार्फत समाजमा योगदान दिँदै आएका कर्मयोगीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरेको स्पष्ट पारे।
स्थानीयस्तरमा निरन्तर धार्मिक गतिविधि सञ्चालन गर्दै आएको मण्डलीलाई प्राप्त सहयोगबाट भजन–कीर्तनका लागि आवश्यक बाजागाजा तथा अन्य सामग्री व्यवस्थापनमा सहजता पुग्ने जनाइएको छ।
























