२०८३ बैशाख १७ गते बिहीबार

वीरगंजमा सडक विस्तार रोक्न सरावगी र मन्त्री गुप्ताको मिलेमतो, १५/१५ फिट सीमामा सीमित गर्न दबाब

 

अभिलाष गुप्ता
बैशाख २३ बिरगंज

गण्डक–घण्टाघर–मितेरी पुलसम्मको सडक चौडा गर्दा भत्काइने भनिएको घना आवादी क्षेत्र जोगाउन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आग्रह गर्नुभएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाको सडक विस्तार योजनाले घना आवादी क्षेत्रका सयौँ घर भत्किने, हजारौँ मानिस विस्थापित हुने तथा थुप्रै मानिसको रोजगारीसमेत गुम्ने भएपछि विरोधमा उत्रिएका स्थानीयको माग पूरा गराउन उहाँ प्रतिबद्ध हुनुभएको हो । अब जनताको चाहना अनुसार नै सडक विस्तार हुने उहाँले बताउनुभयो ।

स्थानीयले उक्त सडक विस्तार गर्दा बढीमा १० देखि १५ मिटरसम्म मात्रै भत्काउन माग गर्दै आएका छन् । १५ मिटरभन्दा बढी भत्काइए वीरगञ्ज बजार नै खण्डहर बन्नाका साथै हजारौँ मानिस आवासविहीन बन्ने उनीहरूको भनाइ छ ।

समस्या सृजना भएदेखि नै स्थानीयवासीको माग सम्बोधन गराउन पहलकदमी गर्दै आउनुभएका मन्त्री गुप्ताले सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग छलफल गरी विद्यमान समस्याको समाधान निकाल्नु भएको हो । ‘वीरगञ्ज युवा तथा व्यापारी सडकपीडित संघर्ष समिति’का संयोजक कुन्दन रौनियारसहितको टोलीलाई लिएर उहाँ मन्त्री देवेन्द्र दाहालको कार्यकक्षमै पुगेर यसबारे छलफल गर्नुभएको हो ।

छलफलमा मन्त्री दाहालले सो सडक चौडा बनाउने मन्त्रालयको कुनै योजना नभएको स्पष्ट पार्नुहुँदै अनावश्यक रूपमा सडक विस्तार गरी व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमाथि क्षति नपुर्‍याइने विश्वास व्यक्त गर्नुभयो । आवश्यक पर्दा सो सडक सहरी विकास मन्त्रालयलाई जिम्मा लगाई सम्बन्धित स्थानीय तहले आवश्यकता अनुसार विस्तार गर्न सक्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत मन्त्री दाहालले व्यक्त गर्नुभएको छ ।

योसँगै गण्डक चोकदेखि मितेरी पुलसम्मको साढे ६ किलोमिटर सडक विस्तारबारे स्थानीयमा देखिएको अन्योलता र आक्रोशसमेत अन्त्य हुने भएको छ ।

सामान्य प्रशासनमन्त्री गुप्ताले यसअघि पनि विभिन्न कार्यक्रमहरूमा सो सडक २५/२५ मिटर नभइ जनताको इच्छा र भावना अनुसार विकास गर्ने तथा समस्याको निकास खोज्नुपर्ने बताउँदै आउनुभएको थियो । उहाँले वीरगञ्जको पुरानो सौन्दर्यता कायम राख्दै आवश्यकता अनुसार सडकलगायत अन्य भौतिक संरचनाको विकास गरिने विश्वास व्यक्त गर्दै आउनुभएको थियो । आफ्नो अडान र वचनबद्धतामा उहाँ सफल देखिनुभएको छ ।

सोमबारको छलफलमा वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगी, नेकपा एमालेका नेता प्रल्हाद गिरीलगायत संघर्ष समितिका अन्य सदस्यहरू सहभागी हुनुहुन्थ्यो । सडक डिभिजन कार्यालय हेटौंडाले सो सडक चौडा बनाउन २५/२५ मिटर भत्काउने सूचना निकालेपछि सो क्षेत्रका स्थानीयहरू संघर्ष समिति बनाएर आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM