अभिलाष गुप्ता
जेष्ठ ०३ बिरगंज
हालै मकवानपुर जिल्लामा चोरी भएका दुई ट्रक नेपाल प्रहरीको सक्रिय अनुसन्धानपछि चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको सडकखण्डको किनारमा फेला परेका छन्।
मकवानपुरको वडा नं. १२ निवासी ४१ वर्षीय ईश्वर बलामीद्वारा सञ्चालन हुँदै आएको ना ३ ख ७३२० नं. को ट्रक वडा नं. ११ नवलपुरस्थित ग्यारेजमा पार्किङ गरिएको अवस्थामा चोरी भएको थियो। त्यसैगरी, ऐनै जिल्लाको वडा नं. ३ निवासी ४६ वर्षीय हरि बहादुर डंगोलको मे १ ख १४५७ नं. को ट्रक भने निजको घर अगाडि पार्किङ गरिएको ठाउँबाट चोरी भएको निवेदन प्रहरीलाई प्राप्त भएको थियो।
दुबै ट्रक हराएको सम्बन्धमा प्राप्त उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले गम्भीर खोजतलास थालनी गरेको थियो। अनुसन्धानका क्रममा चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गको किनारमा शंकास्पद अवस्थामा दुबै ट्रक फेला परेका थिए।
प्रहरीले फेला परेका दुबै सवारी साधन कार्यालयमा ल्याई सम्बन्धित धनीहरूलाई बोलाई सनाखत गराएको थियो। सवारी धनीहरूले ट्रक आफ्नो भएको प्रमाणित गरेपछि ट्रकहरू आजै उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी बुझाइएको छ।
चोरीमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि थप अनुसन्धान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएर संगठित चोरी गिरोहको संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाइएको छ।
यस्ता घटना न्यूनीकरणका लागि ट्रक, गाडी तथा अन्य सवारी साधन मालिकहरूलाई सुरक्षा सजगता अपनाउन, सिसीटिभी निगरानी वा सुरक्षित पार्किङ स्थान प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।









