बिकाश कुमार
बिरगंज ०३ फागुन
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बारा र रौतहटको सिमानास्थित अरुवा खोला बाँधलाई मुख्य ‘ट्रान्जिट’ बनाएर भारतीय मरेका तथा विषाक्त माछाको तस्करी व्यापक रूपमा भइरहेको तथ्य बाहिर आएको छ। स्थानीय स्रोतका अनुसार भारतीय कुख्यात तस्करहरूको संलग्नतामा आन्ध्रप्रदेशबाट ल्याइएका दुई पिकअप मरेका माछा जंगे पिलर ३५६ देखि पूर्व, भारतको झरोखर पञ्चायतस्थित पिठवा टोलको आँप बगैंचामा भण्डारण गरी नेपालतर्फ तस्करी भइरहेको छ।
प्राप्त जानकारीअनुसार हिजो राति मात्रै करिब पाँचवटा मोटरसाइकलमार्फत ती माछा नेपालका विभिन्न बजारमा भित्र्याइएको बताइएको छ। संवेदनशील प्रकृतिको यस्तो तस्करी भइरहँदा पनि सुरक्षाकर्मीबाट प्रभावकारी नियन्त्रण हुन नसक्नु र आज राति पनि गतिविधि जारी रहने सूचनाले सुरक्षा संयन्त्र र तस्करबीच ‘मिलेमतो’ रहेको आशंकालाई बल दिएको छ।
यो नाका हुँदै माछा मात्र होइन, कपडा, सुर्तीजन्य पदार्थ, हार्डवेयर तथा किराना सामग्रीसमेत विना रोकतोक बारा र रौतहटका मौलापुर, कटहरिया, विजयपुर, हरनहिया, सिम्रौनगढ र कोल्भी जस्ता प्रमुख बजारहरूमा पुर्याइने गरेको स्थानीयको भनाइ छ।विशेषगरी छिमेकी मुलुकबाट ल्याइने मरेका माछालाई लामो समयसम्म ताजा देखाउन ‘फर्मालीन’ नामक घातक रसायन प्रयोग गरिने गरेको आरोप छ। फर्मालीन औद्योगिक प्रयोजनका लागि प्रयोग हुने रसायन हो, जसले मृत शरीर सड्न नदिने काम गर्छ।
चिकित्सकहरूका अनुसार यस्तो रसायनयुक्त माछा सेवन गर्दा तत्काल पेट दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने जस्ता समस्या देखिन सक्छन् भने दीर्घकालीन रूपमा मिर्गौला फेल, कलेजोमा क्षति तथा पेटको क्यान्सर जस्ता गम्भीर रोगको जोखिम बढ्छ।
माछा जस्तो संवेदनशील खाद्यवस्तुमा हुने यस्तो लापर्बाहीले सिङ्गो समुदायको स्वास्थ्यसँग खेलबाड गरिरहेको छ। स्थानीय प्रशासन र सुरक्षा निकायको उदासीनताप्रति सर्वसाधारणमा त्रास र आक्रोश बढ्दो छ। सीमा सुरक्षा र जनस्वास्थ्य जस्ता महत्वपूर्ण दायित्व बोकेका निकाय मौन बस्दा तस्करहरूको मनोबल बढेको देखिन्छ।
यस अवस्थामा सम्बन्धित निकायले तुरुन्त निगरानी कडा पारेर विषाक्त माछा बरामद गर्ने, दोषीलाई कानुनी कठघरामा ल्याउने तथा बजारमा बिक्री भइरहेका माछाको गुणस्तर परीक्षण गर्ने कार्यमा ढिलाइ गर्नु हुँदैन। भान्सासम्म पुग्ने खाद्यान्नमा विषाक्त रसायन मिसिनु अपराध मात्र होइन, जनस्वास्थ्यमाथिको गम्भीर आक्रमण भएकाले यसप्रति राज्यको शून्य सहनशीलता आवश्यक छ।









