वीरगञ्ज महानगरपालिका–२ मा अवस्थित ऐतिहासिक छपकैया पोखरीको संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने स्थानीय अभियन्ता जफरुल मिया (जफर) लगायतका अगुवाहरूलाई महानगरपालिकाले सम्मान गरेको छ।
वर्षौंदेखि भू–माफियाको अतिक्रमणको जोखिममा परेको करिब ४ बिघा क्षेत्रफलमा फैलिएको यस महत्वपूर्ण सार्वजनिक जलाशयलाई जोगाउन जफर र उनको टोलीले निरन्तर कानुनी, सामाजिक तथा जनचेतनामूलक संघर्ष गर्दै आएका थिए।यस अभियानमा देखाएको साहस, प्रतिबद्धता र योगदानको कदर गर्दै वीरगञ्ज महानगरपालिकाले आज आयोजित एक कार्यक्रमबीच जफरसहित अभियानमा सक्रिय रूपमा सहभागी करिब ४० जना स्थानीयलाई सम्मान गरेको हो।
कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले उनीहरूलाई सम्मानपत्र प्रदान गर्दै सार्वजनिक सम्पत्ति संरक्षणमा उनीहरूले देखाएको अग्रसरता समाजका लागि प्रेरणादायी भएको उल्लेख गर्नुभयो।
सम्मान कार्यक्रममा बोल्दै जफरुल मियाले महानगरपालिकाबाट प्राप्त सम्मानप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले लामो संघर्षको यात्रामा महानगरले पुर्याएको साथ, सहयोग र समर्थनप्रति विशेष आभार प्रकट गर्नुभयो। साथै, सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो।
गत चैत १७ गते पर्सा जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले गरेको ऐतिहासिक फैसलाले यस पोखरीलाई भू–माफियाको कब्जाबाट मुक्त गरिदिएको थियो। अर्बौँ मूल्य बराबरको यो जलाशयमाथि भएको अवैध दाबीलाई खारेज गर्दै अदालतले यसलाई सार्वजनिक सम्पत्तिको रूपमा कायम गरेको हो।
यस ऐतिहासिक निर्णयका लागि जफरुल मिया सहितको टोलीले एक दशकभन्दा बढी समय संघर्ष गर्नुपरेको थियो। उनीहरूले २०३१ सालदेखिका नगर पञ्चायतका ठेक्का रसिद, बोर्ड बैठकका निर्णयहरू, तथा अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू संकलन गरी अदालतमा प्रमाणका रूपमा पेश गरेका थिए। यी प्रमाणहरूले पोखरीको सार्वजनिक हैसियत पुष्टि गर्न निर्णायक भूमिका खेलेका थिए।
छपकैया पोखरीको संरक्षणका लागि गरिएको यो संघर्षले केवल एउटा जलाशय मात्र जोगाएको छैन, बरु सार्वजनिक सम्पत्तिको रक्षा गर्न नागरिकस्तरबाट पनि प्रभावकारी पहल सम्भव हुन्छ भन्ने सशक्त सन्देश दिएको छ।








