
न्युज डेस्क,देश मधेश डटकम
आर्थिक अपराधका गिरोहले खाता ‘सस्पेण्ड’ हुन लागेको बताउँदै अनधिकृत रुपमा चार हजारभन्दा बढीको इ-सेवाको खातामा पहुँच पुर्याइ करोडौँ रकम ट्रान्सफर गरेको पाइएको छ ।‘फिसिङ लिङ्क’ पठाइ इ-सेवाको रकम चोरी गरेको अभियोगमा काठमाडौँको अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भएका २२ वर्षीय राहुल बूढालाई प्रहरीले पक्राउ गरेको छ ।
उनले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिङ्क पठाइ खाता सस्पेण्ड हुन लागेको भनी चेतावनी दिइ भेरिफाइका लागि लिङ्क खोल्न लगाई इ–सेवामा अनधिकृत पहुँच पु-याइ रकम ठगी गरेका हुन् ।
रकम चोरीमा संलग्न उनलाई काठमाडौँको कालीमाटीबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।उनले चार हजारभन्दा बढी व्यक्तिहरूको इ-सेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको खातामा एक करोड दुई लाख रूपैयाँ बराबरको रकम ट्रान्सफर गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनुभयो ।



















