उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले वडा दसैँको सार्वजनिक बिदाका दिन पनि अदालतको कामकारबाही सञ्चालन गर्ने भएको छ। अदालतले सार्वजनिक बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा तथा अन्य अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ गर्ने जनाएको छ।
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार, २०८३ साल असोज २५ गतेदेखि कात्तिक ६ गतेसम्म दसैँको अवसरमा सार्वजनिक बिदा भए पनि अदालतबाट अत्यावश्यक न्यायिक सेवा प्रदान गरिनेछ।
उपरजिस्ट्रार पाण्डेले दिएको जानकारीअनुसार बिदाका दिन अदालतको कामकारबाही बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। उक्त अवधिमा बन्दीप्रत्यक्षीकरण, निषेधाज्ञा लगायतका अत्यावश्यक प्रकृतिका निवेदनको सुनुवाइ गरिनेछ।
सार्वजनिक बिदाका कारण न्यायिक सेवा प्रभावित हुन नदिन तथा सेवाग्राहीलाई आवश्यक न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यले अदालत सञ्चालन गर्न लागिएको हो।
यससम्बन्धी सूचना उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले सार्वजनिक गरेको छ। बिदाको अवधिमा न्यायिक सेवा लिनुपर्ने सेवाग्राही तथा सरोकारवालालाई तोकिएको समयमा अदालतमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
























