गौतम माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत गौतम समाज कल्याण संस्थाले वीरगञ्जमा निःशुल्क भोजन सेवा सञ्चालन गरेको छ।
“कर्ममा करुणा, सेवामा समर्पण” भन्ने मूल नाराका साथ संस्थाले शनिबार वीरगञ्जस्थित घण्टाघरको शिव मन्दिर परिसरमा निःशुल्क भोजन सेवा सञ्चालन गरेको हो।
गौतम माध्यमिक विद्यालयको स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्तीका अवसरमा सुरु गरिएको यस अभियानअन्तर्गत प्रत्येक महिनाको एक शनिबार निःशुल्क भोजन सेवा सञ्चालन गरिँदै आएको छ। अभियानले गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिहरूलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ।
शनिबार सञ्चालन गरिएको भोजन सेवाबाट करिब २४० जनाले निःशुल्क भोजन ग्रहण गरी लाभ लिएका छन्।
कार्यक्रममा गौतम समाज कल्याण संस्थाका अध्यक्ष गणेश क्षेत्री, उपाध्यक्ष ललित कर्ण, सचिव रमेश शर्मा, अल्भिन रेन्जर, सिपेन्द्र गुप्ता, सौराज प्रधानलगायत विद्यालयका शिक्षक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विद्यालयको स्वर्ण जयन्तीलाई उत्सवमा मात्र सीमित नराखी समाजप्रतिको सेवा, सहयोग र मानवीय करुणाको भावना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ।
संस्थाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिँदै विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
























