अभिलाष गुप्ता
बैशाख २७ बिरगंज
समाजमा विपन्न, अशक्त र सहयोगको खाँचो भएका नागरिकहरूलाई प्रत्यक्ष सहयोग पु¥याउँदै आएको सामाजिक संस्था उपकार सेवा नेपालले पकाहामैनपुर गाउँपालिका–१ धोरे निवासी एक जना पूर्ण अशक्त व्यक्तिलाई घरमै पुगेर व्हिलचेयर हस्तान्तरण गरेको छ।
शारीरिक रूपले पूर्ण रूपमा अशक्त र हिँड्डुल गर्न अक्षम ती व्यक्तिलाई जीवनयापनमा अत्यन्त कठिनाइ भइरहेको जानकारी प्राप्त भएपछि संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीको नेतृत्वमा एक टोलीले सो व्यक्तिको घरमै पुगी एक विशेष कार्यक्रमको आयोजना गर्दै व्हिलचेयर प्रदान गरिएको हो।
कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, सामाजिक अभियन्ता प्रकाश थारू, युवा नेताहरू ओम प्रकाश सर्राफ र शिव जी सोनी, साथै गाउँका स्थानीय दानदाताहरू, समाजसेवी तथा अगुवाहरूको पनि उपस्थिति रहेको थियो। सहभागीहरूले यस्तो प्रकारको मानवीय सहयोग कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
कार्यक्रममा बोल्दै अध्यक्ष सरावगीले उपकार सेवा नेपालले शुरु देखिनै सेवा भावलाई केन्द्रमा राख्दै गरिब, पीडित र असहायहरूको पक्षमा काम गर्दै आएको बताइन्। उनले भनिन्, “अशक्तताको पीडा केवल भोगेकाले बुझ्छ, त्यसैले हामीले यस्ता नागरिकहरूलाई राहत दिनुपर्ने दायित्व समाजले लिनुपर्छ।”
प्रकाश थारूले पनि संस्थाको यो पहललाई मानवता र सहानुभूतिको उदाहरणको रूपमा व्याख्या गरे। “एकजनालाई सहारा दिन सकियो भने, त्यो पनि ठूलो कुरा हो। समाजमा यस्ता क्रियाकलाप आवश्यक छन्,” उनले भने।
स्थानीयबासीहरूले संस्थाको यो योगदानलाई सराहना गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यहरू निरन्तर भइरहुन् भन्ने आशा व्यक्त गरे।
उपकार सेवा नेपालले यसअघि पनि विभिन्न स्वास्थ्य शिविर, खाद्यान्न वितरण, रक्तदान, आपतकालीन राहत वितरण जस्ता कार्यहरू गर्दै आएको छ। यस कार्यक्रममार्फत संस्थाले पुनः एकपटक मानवसेवा नै नारायण सेवा हो भन्ने आदर्शलाई व्यवहारमा उतारेको छ।
अन्त्यमा, संस्थाले आगामी दिनहरूमा पनि पूर्ण अशक्त, वृद्ध, अपांग र असहाय व्यक्तिहरूको पहिचान गरी आवश्यक सहयोगका कार्यक्रम विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।



















