अभिलाष गुप्ता
वीरगन्ज ३१ बैशाख
वैदेशिक रोजगारीसम्बन्धी कसुर मुद्दाका एक प्रतिवादीलाई वीरगन्जबाट प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का ६८ वर्षीय सितारामप्रसाद कुर्मी रहेका छन् । उनीविरुद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो ।
सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको थियो ।
त्यहि पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको र पक्राउलगत्तै कुर्मीलाई वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
























