अभिलाष गुप्ता
वीरगंज, जेठ २७
नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले विद्युत चोरीमा संलग्न व्यक्तिहरूविरुद्ध मंगलबार कडा कारबाही गरेको छ। हुकिङ तथा अन्य गैरकानुनी उपायमार्फत विद्युत प्रयोग गरिरहेको सूचना पाएपछि प्राधिकरणले प्रहरीको सहयोगमा छापा मारी चोरीमा प्रयोग भएका सामग्री बरामद गरेको हो।
नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुबेको निर्देशनमा र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ वीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झाको नेतृत्वमा गठन गरिएको टोलीले वीरगंज महानगरपालिका अन्तर्गत नेशनल मेडिकल कलेज क्षेत्रको नकटुवा आसपासका घरहरू र वडा नम्बर १६ स्थित नगवा क्षेत्रमा छापा मारेको हो।
उक्त अपरेशन्समा जनपद प्रहरी र शस्त्र प्रहरी बलको सक्रिय सहयोग रहेको थियो। साथै, नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरू — राजेश दास तत्मा, इद महमद, विनोद मन्डल, पुनिलाल साह, बृज किशोर लगायतका कर्मचारीहरू समेत संलग्न थिए।
कारबाहीको क्रममा घर–घरमा लुकाई राखिएका तार, हुकिङको लागि प्रयोग गरिने मोटर, इलेक्ट्रोनिक उपकरण लगायतका सामग्रीहरू बरामद गरिएका छन्। ती सबै उपकरणहरू नेपाल विद्युत प्राधिकरण वीरगंजको नियन्त्रणमा लिइएको छ।
विद्युत चोरीको घटनाले राष्ट्रलाई वार्षिक रूपमा ठूलो आर्थिक घाटा पुर्याउने हुँदा यस्तो कार्यमा संलग्न जो–कोहीलाई अब कडा कानुनी कारबाही गरिने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रमुख दुबेले अब यस्ता चोरी नियन्त्रणका लागि नियमित अनुगमन, प्रविधिमैत्री उपायहरूको प्रयोग र जनचेतना अभियानहरू समेत अघि बढाइने जानकारी दिएका छन्।
प्राधिकरणले सर्वसाधारणलाई पनि चोरी जस्तो गैरकानुनी कार्य नगर्न र देखेमा नजिकको विद्युत कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।

















