मधेश प्रदेश सरकार अन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालय, जनकपुरधामको आयोजनामा तथा HELVETAS Nepal को प्राविधिक सहयोगमा “औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमको अभिमुखीकरण, समिक्षा तथा उत्कृष्ट प्रशिक्षार्थी, शिक्षालय/विद्यालय तथा उद्योगलाई सम्मान कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम वीरगञ्जस्थित होटल मकालुमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा बिरगंज उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष हरी गौतमको विशेष आतिथ्य रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा पब्सन पर्साका अध्यक्ष सरोज चौधरी,नवदिप एकेडेमीका संचालिका एवं समाजसेवी शुशिला साह लगायत विभिन्न शिक्षाविद्, उद्योगपति, तालिम प्रशिक्षक तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य उद्योगसँग सहकार्यमा आधारित औद्योगिक तालिमको प्रभाव, चुनौती तथा सम्भावनाहरूको समिक्षा गर्नुका साथै उत्कृष्ट योगदान पुर्याउने प्रशिक्षार्थी, शिक्षालय/प्राविधिक विद्यालय तथा उद्योगहरुलाई सम्मानित गर्नु रहेको थियो।

कार्यक्रमको क्रममा विभिन्न वक्ताहरूले प्राविधिक तथा व्यावसायिक शिक्षाको सुदृढीकरण र उद्योग–शिक्षा सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
उत्कृष्ट प्रशिक्षार्थी तथा सहकार्यकारी उद्योग–विद्यालयहरूलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको उक्त कार्यक्रमले प्रशिक्षार्थीहरूमा थप उत्साह र प्रेरणा जगाएको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको सफल आयोजना तथा व्यवस्थापनप्रति सहभागीहरूले आयोजक र सहयोजक संस्थाहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।



















