वीरगंजस्थित श्रीराम अस्पतालमा उपचाररत एक गर्भवती महिलाको ज्यान संकटमा परेको बेला वीरगंज बिर्ताका युवा समाजसेवी छोटे प्रसाद कानुले रक्तदान गरेर अमूल्य ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
घटनाबारे जानकारी पाएपछि समाजसेवी कानुले दिपेश साह कानुको सहयोग लिई वीरगंज रक्त सञ्चार केन्द्रमा सम्पर्क गरी तुरुन्तै रक्तदान गरेका थिए। उनको रक्तदानपछि आवश्यक रगत उपलब्ध भई गर्भवती महिलाको उपचार समयमै हुन सकेको चिकित्सकहरूले जनाएका छन्।
वीरगंज रक्त सञ्चार केन्द्रका प्रमुख सौरभ राज पाण्डेका अनुसार हाल वीरगंजमा अत्यधिक गर्मीका कारण रक्तदानदर घटेको छ भने अस्पतालहरूमा रगतको माग भने तीव्र रुपमा बढेको छ। “रक्त सञ्चार केन्द्रमा रगतको अत्यधिक अभाव छ, यस्तो अवस्थामा छोटे कानुजस्ता युवाहरूको अग्रसरता प्रेरणादायक छ,” पाण्डेले भने।
साथै, उनले वीरगंजका संघसंस्था, समाजसेवी, युवाहरू र सम्पूर्ण नागरिकहरूलाई नियमित रक्तदानमा सहभागी भई मानव जीवन रक्षामा योगदान दिन आग्रह गरेका छन्।
यो घटनाले “एक थोपा रगत, एक जीवनको आशा” भन्ने सन्देशलाई पुनः उजागर गरेको छ। समाजसेवी कानुको मानवीय योगदानले वीरगंजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

















