पर्सा जिल्लामा आजदेखि हैजा (Cholera) विरुद्धको ओरल कोलेरा भ्याक्सिन (OCV) खोप अभियान औपचारिक रूपमा सुरु गरिएको छ। यो अभियान नेपाल सरकार, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ र इन्टरनेशनल को–ऑर्डिनेटिङ ग्रुप (ICG) को सहयोगमा सञ्चालन गरिएको हो।
अभियान अन्तर्गत आजदेखि जिल्लाभरका विभिन्न वडामा स्वास्थ्यकर्मीहरूको टोलीले घरदैलो र खोप केन्द्रमार्फत नागरिकहरूलाई मुखले खाने हैजा विरुद्धको खोप वितरण गर्न थालेका छन्।

नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, यो खोप पूर्ण रूपमा सुरक्षित र प्रभावकारी रहेको छ। उनले भने,
यो खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिले लगाउन सक्छन्। गर्भवती महिला र सुत्केरी अवस्थाका महिलालाई पनि यो खोप लगाउन सकिन्छ। कुनै हानि वा साइड इफेक्ट हुँदैन।
डा. सिंहका अनुसार, पर्सा जिल्लाका सबै स्थानीय तहमा यो अभियान सुरु गरिएको छ र जनता नजिकैको खोप केन्द्रमा सम्पर्क गरी खोप लगाउन सक्नेछन्। उनले थपे हामीले लगायौं, अब पालो तपाईंको भन्ने नारा सहित यो अभियानलाई जनस्तरमा विस्तार गरिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार, हैजा दूषित पानी वा खाना सेवनबाट फैलिने अत्यन्त संक्रामक रोग हो, जसको नियन्त्रणका लागि खोप, सरसफाइ र स्वच्छ पानीको प्रयोग सबैभन्दा प्रभावकारी उपाय हुन्।
सरकारले यो खोप अभियानबाट पर्सा जिल्लालाई हैजामुक्त बनाउने लक्ष्य राखेको छ। खोप अभियान आगामी केही दिनसम्म निरन्तर चल्ने र सबैलाई यो अवसर प्रयोग गर्न आग्रह गरिएको छ।
























