वीरगञ्ज भन्सार नाकामा शसस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि ज्यादती र दुर्व्यवहारको आरोप सार्वजनिक भएको छ। आज दिउँसो गणिता यादव नामकी एक महिला शसस्त्र प्रहरीले दिएको गालीगलौज र व्यवहारका कारण आक्रोशित हुँदै नाकामै होहल्ला मचाएकी थिइन्।
महिलाको भनाइ अनुसार, उनी घरको सामान्य प्रयोगका लागि सामान ल्याउँदै गर्दा शसस्त्र प्रहरीले फोहोर भाषामा गाली गरेको र अपमानजनक व्यवहार देखाएको बताइन्। उनका अनुसार, “सामान्य नागरिकको घरको समान ल्याउन पनि गारो हुने, तर तस्करहरूलाई भने पैसा लिएर छुट दिने” प्रवृत्ति नाकामा मौलाएको छ।
महिलाले आरोप लगाउँदै भनिन्, “हामी जस्ता सर्वसाधारणलाई सानो कुरा गर्दा पनि दुख दिने, तर ठूला तस्करलाई पैसा खाएर जान दिने काम भइरहेको छ।”
स्थानीय बासिन्दाहरूले पनि नाकामा यस्तो घटना नयाँ नभएको बताएका छन्। उनीहरूले भने, “२ दिनअघि पनि यही नाकामा शसस्त्र प्रहरीले एक महिलालाई घरको लागि ल्याउँदै गरेको एक बोरा आटा समातेका थिए र कुटपिटसमेत भएको खबर आएको थियो।”
स्रोतका अनुसार, भन्सार क्षेत्रमा तैनाथ शसस्त्र प्रहरीहरूले कहिलेकाहीँ सर्वसाधारणसँग दुर्व्यवहार गर्ने र अत्यधिक कठोरता देखाउने गरेको गुनासो बढ्दो छ।यस घटनापछि स्थानीयहरू र सामाजिक अभियन्ताहरूले सम्बन्धित निकायलाई घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्।




















