२०८३ बैशाख २७ गते आईतवार

साहेब बाबा धामका आदरणीय गुरुको शुभ जन्मोत्सवमा गहवामाई मन्दिर प्रांगणमा भव्य प्रसाद वितरण कार्यक्रम सम्पन्न

 

साहेब बाबा धामका पीठाधिश्वर आदरणीय गुरुको शुभ जन्मोत्सवको पावन अवसरमा आज बिरगञ्जस्थित गहवामाई मन्दिर प्रांगणमा विशेष प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ। धार्मिक आस्था, श्रद्धा र सामाजिक सद्भावको सन्देशसहित आयोजित कार्यक्रममा भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अवसरमा बिरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा मेयर राजेशमान सिंह स्वयं उपस्थित भई आफ्ना गुरु साहेब बाबा धामका पीठाधिश्वर आदरणीय गुरुको दीर्घायु, उत्तम स्वास्थ्य र निरन्तर मार्गदर्शनको कामना गर्नुभयो। मेयर सिंहले गुरुको आशिर्वादले समाजमा सकारात्मक सोच, सेवा भाव र नैतिक मूल्यहरूको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा श्रद्धालु भक्तजनहरूलाई प्रसाद वितरण गरिएको थियो भने गुरुको जन्मोत्सवलाई आध्यात्मिक वातावरणमा भव्य रूपमा मनाइएको थियो। स्थानीय समाजसेवी, धार्मिक अगुवा, सर्वसाधारण तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको यस कार्यक्रममा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको सन्देश प्रवाह भएको आयोजकहरूले बताएका छन्।

धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै सहभागीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक–धार्मिक गतिविधिहरू निरन्तर रूपमा आयोजना हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM